काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरे र संस्थापन इतर समूहका नेता डा. शेखर कोइरालाबीच भेट भएको छ ।
उनीहरूबीच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो । महामन्त्री घिमिरेले नेता कोइरालासँगको भेटका क्रममा खिचिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् ।
तस्बिरसँगै उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली कांग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा पार्टीका आदरणीय नेता डा. शेखर कोइरालासँग भेटघाट र छलफल ।’ महामन्त्री घिमिरे भारतबाट फर्किएपछि कोइरालालाई भेट्न पुगेका थिए । भारत जानुअघि पनि महामन्त्री घिमिरे र कोइरालाबीच भेटवार्ता भएको थियो ।
‘आज बिहान कोइराला निवासमा शेखर दाइसँग भेट भएको हो,’ उनले भने, ‘अस्ति भारत जानुअघि पनि भेट भएको थियो ।’ महामन्त्री घिमिरेले पार्टीको आन्तरिक विवाद समाधान र आसन्न १५औँ महाधिवेशनमा सबै पक्षको सहभागिताबारे छलफल भएको जानकारी दिए ।
‘पार्टीका आन्तरिक विषयलाई कसरी समाधान गर्ने, महाधिवेशनमा सबै सहभागी हुने वातावरण कसरी बनाउने, शेखर दाइका पाँच बुँदा र हाम्रा सात बुँदामा छलफल गरेर कहिलेसम्म टुंग्याउने भन्ने विषयमा कुराकानी भयो,’ उनले भने ।





