बेइजिङको सबैभन्दा अग्लो भवनमा विमान ठोक्कियो

२०८३ असार १३, शनिबार

काठमाडौं : चीनको राजधानी बेइजिङस्थित सबैभन्दा अग्लो गगनचुम्बी भवन ‘सीआईटीआईसी टावर’ मा एउटा सानो विमान ठोक्किएको छ।

विश्वकै सुरक्षित र कडा निगरानी हुने सहरमध्ये एक मानिने बेइजिङको मुटुमा भएको यो घटनाले सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको सीएनएनको समाचारमा उल्लेख गरिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियो फुटेजहरूमा १०९ तले उक्त टावरबाट भग्नावशेषहरू तल झरिरहेको देखिन्छ। सडकमा विमानको पुच्छरको भाग र एउटा ट्याक्सीको सिसा फुटेको अवस्थामा भेटिएको छ। शुक्रबार दिउँसो भएको घटनालगत्तै उक्त भवनबाट मानिसहरूलाई बाहिर निकालिएको थियो। घटनास्थलमा ठूलो संख्यामा दमकल, प्रहरीका गाडी र एम्बुलेन्सहरू परिचालन गरिएको थियो ।

यस संवेदनशील घटनाबारे चिनियाँ अधिकारीहरूले हालसम्म कुनै आधिकारिक जानकारी दिएका छैनन्। बेइजिङ जनसुरक्षा ब्युरोका स्थानीय अधिकारीहरूले यसबारे आफूहरूलाई जानकारी नभएको बताएका छन्। बेइजिङ नगरपालिका र विमान धनी भनिएको कम्पनीले पनि सञ्चारमाध्यमलाई कुनै प्रतिक्रिया दिएका छैनन्।

विमानको दर्ता कोडका आधारमा यो चीनमा निर्मित हलुका खेलकुद विमान भएको खुलेको समाचारमा उल्लेख छ। यो विमान एक स्थानीय जनरल एभिएसन कम्पनीको स्वामित्वमा रहेको बुझिएको छ, जसले पाइलट तालिम र मनोरञ्जनात्मक उडानका सेवा दिने गर्दछ।

‘फ्लाइट राडार २४ को अनलाइन तथ्यांक अनुसार, बेइजिङको शिफोसी विमानस्थलबाट उडेको केही समयमै उक्त विमान आफ्नो निर्धारित मार्गबाट निकै टाढा मोडिएको देखिएको छ। विमानमा कति सवार थिए र घटनामा कति क्षति भयो भन्नेबारे चिनियाँ अधिकारीहरूले जानकारी गराएका छैनन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार