हामी अलिकति घाइते भएका हौँ, मरेका छैनौँ : ओली

२०८३ असार १७, बुधबार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश प्रतिगामी, फासीवादी बाटोमा जान नसक्ने बताएका छन्।

अध्यक्ष ओलीले फासीवादी प्रवृत्तिविरुद्ध मिल्न सकिने सबै शक्तिसँग कार्यगत एकता गर्नुपर्नेमा जोड दिए। एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलद्वारा पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित सम्पर्क विशेष संगठन कमिटीसँग सुझाव संकलन कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘यतिवेला पार्टी एकीकरण, एकताको कुरा कहाँबाट आयो ?’ प्रश्न गर्दै ओलीले भने, ‘नेकपा एमाले देशव्यापी रूपमा फैलिएको, सुदृढ संगठन भएको, सही विचार र महान् उद्देश्यका साथ अगाडि बढिरहेको पार्टी भएकाले यसलाई थप सुदृढ र विस्तार गर्नु छ, एकीकरण गर्नु आवश्यक छैन।’

आफू सरकारमा रहँदा देशको विकास र जनताको हितमा ऐतिहासिक र असाधारण काम गरेको दाबी गर्दै उनले कुनै नराम्रो काम गरेर एमाले जनतामा अलोकप्रिय भएको नभई भ्रमबाट जनता अलमलिएको जिकिर गरे।

‘हामी अलिकति घाइते भएका हौँ, मरेका छैनौँ, हामी उठ्न सक्छौँ,’ ओलीले भने, ‘हामीले केही बिगारेका छैनौँ, त्याग, तपस्या गरेका छौँ, लोभपाप गरेका छैनौँ, हीनताबोध गर्नुपर्नेछैन, भविष्य हाम्रै हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार