कास्की : नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा देखिएका कमीकमजोरी हटाएर अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन्।
पोखरामा बुधबार आयोजित गण्डकी प्रदेशको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा उनले प्रदेश, जिल्ला तथा पालिका र वडातहसम्म सङ्गठन विस्तार गरेर महाधिवेशनसम्म पार्टीलाई नयाँ उचाइमा पुर्याउने अठोट व्यक्त गरे।
‘हामीले यो पटक असाधारण परिघटनाको सामना गर्नुपरेको छ तर हामी ध्वस्त भइसकेका छैनौँ। सबैभन्दा पहिला आफ्नो कमजोरी सुधार्ने विषयलाई उच्च प्राथमिकताका साथ लिनुपर्छ,’ संयोजक दाहालले भने, ‘विगतमा जस्तै राष्ट्रिय स्वाधिनता र वर्गीय हितका निम्ति जस्तोसुकै त्याग गर्ने सङ्कल्प गरेमा हामी यहीबाट सुधारिनेछौँ र पार्टीलाई नयाँ उचाइमा लैजान सम्भव हुनेछ।’
आगामी महाधिवेशन सामान्य र नेतृत्व चयनमा मात्र केन्द्रित नभइ वैचारिक र सङ्गठनको हिसाबले क्रमभङ्ग गर्नेगरी अघि बढ्ने उनले बताए। “पार्टीको नेतृत्व र विचार निर्माण गर्दा पनि नयाँ रणनीति र कार्यनीति सहित विचारको विकास गर्नेछौँ। हामी अब अर्को क्रान्तिको सुरुआत गरेर मात्र विश्राम लिने छौँ,’ संयोजक दाहालले भने।





