मनाङमा चामलको माग उच्च

२०८३ असार २३, मंगलवार

मनाङ : हिमाली जिल्ला मनाङमा चामलको माग उच्च रूपमा बढेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शाखा कार्यालयमार्फत सञ्चालन गरिएको ‘जनता बिक्री कार्यक्रम’ मार्फत सहुलियत मूल्यमा चामल बिक्री वितरण भइरहेको छ ।

जिल्लामा सुपथ मूल्यमा खाद्यान्न उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको यस कार्यक्रममार्फत चामल, चिनी, दाल र खाद्य तेलको उल्लेखनीय बिक्री भएको शाखा कार्यालयका प्रमुख रामाशङ्कर कुशवाहाले जानकारी दिएका छन् ।

मनाङमा धान उत्पादन नहुने भएकाले पनि यहाँ चामलको माग बढी रहेको उनको भनाइ छ । माग अनुसार सहुलियत मूल्यमा खाद्य सामग्री उपलब्ध हुँदा स्थानीय बासिन्दालाई निकै सहज भएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार २०८३ असार २१ गतेसम्म जनता बिक्री कार्यक्रम अन्तर्गत स्टिम जिरा मसिनो चामल ४४२.७५ क्विन्टल बिक्री भएको छ । त्यस्तै, अन्नपूर्ण सोना मन्सुली चामल ३०३.५० क्विन्टल, एफआर सोना मन्सुली चामल ११२ क्विन्टल, एफआर स्टिम जिरा मसिनो चामल ८८.७५ क्विन्टल, लङ्ग ग्रेन चामल १३.८५ क्विन्टल र बासमती चामल छ क्विन्टल बिक्री भएको कुशवाहाले जानकारी दिए ।

यसका साथै दैनिक उपभोग्य वस्तुमध्ये चिनी २४०.४० क्विन्टल बिक्री भएको छ । दाल र पिठो अन्तर्गत रातो मुसुरो दाल ४६.९१ क्विन्टल, मास दाल २०.२२ क्विन्टल, चना ६.८९ क्विन्टल, पिठो १३.२५ क्विन्टल, मैदा २.७६ क्विन्टल तथा रहर दाल २.१० क्विन्टल उपभोक्ताले खरिद गरेका छन् ।

खाने तेलतर्फ सुरुची सनफ्लावर तेल सात हजार ६६४ लिटर, सुरुची तोरीको तेल एक हजार ४३३ लिटर र भटमासको तेल एक हजार ४३८ लिटर बिक्री भएको छ । त्यस्तै, शान्ति तोरीको तेल १९ लिटर तथा डिडिसी घ्यु ६६ किलोग्राम बिक्री भएको कार्यालयले जनाएको छ । मसला तथा अन्य उपभोग्य सामग्रीतर्फ चिउरा ८.८३ क्विन्टल, जिरा दाना १.८ क्विन्टल सहित विभिन्न प्रकारका चिया, बेसार, धनियाँ, खुर्सानी पाउडर तथा स्थानीय उत्पादन पनि बिक्री भएको छ ।

शाखा प्रमुख कुशवाहाका अनुसार हाल कार्यालयले सात प्रकारका चामल, चार प्रकारका दाल, चार प्रकारका पिठो, चार प्रकारका खाने तेल, १० प्रकारका मसला, डिडिसी घ्यु, चिउरा, गेडागुडी, चिनी, बिस्कुट र चाउचाउ लगायत ५९ प्रकारका खाद्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार