काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ हजार रुपैयाँ घुस लिएको आरोपमा सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादवलाई पक्राउ गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइरहेका बेला कर्जन्हा नगरपालिका–४ बाट यादवलाई मंगलबार नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार कर्जन्हा नगरपालिका–२ मा रहेको एक सःमिलले विभिन्न स्थानबाट ल्याएको तीन ट्रक काठको सहजीकरण गरिदिने भन्दै यादवले प्रति ट्रक चार हजार रुपैयाँका दरले कुल १२ हजार रुपैयाँ घुस मागेका थिए। घुस मागिएपछि सेवाग्राहीले अख्तियारमा उजुरी दिएका थिए।
त्यसपछि आयोगले ‘स्ट्रिङ अपरेसन’ सञ्चालन गरी यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।








