रुसी आक्रमणमा आठ जनाको मृत्यु, दर्जनौँ घाइते

२०८३ असार २८, आईतवार

किभ : रुसले युक्रेनमाथि मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् । लगातार बढ्दो रुसी आक्रमणबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी राष्ट्रहरूलाई हतियार आपूर्ति छिटो गर्न आग्रह गरेका छन् ।

युक्रेनी अधिकारीहरूका अनुसार शनिबार उत्तरी शहर सुमीमा रुसले प्रहार गरेको दुईवटा ग्लाइड बममध्ये एक बस स्टपमा खस्दा पाँच जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । घटनास्थलका तस्बिरमा बसको एक भाग पूर्ण रूपमा ध्वस्त भएको र आसपासका अपार्टमेन्ट भवनमा पनि क्षति पुगेको देखिएको छ ।

सुमी क्षेत्रकै सीमावर्ती जिल्लामा विस्फोटक पदार्थमा पाइला पर्दा एक जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । दक्षिणपूर्वी शहर जापोरिजियामा पनि रुसी ग्लाइड बम आक्रमणबाट १० जना घाइते भएका छन् । त्यस्तै, दक्षिणी बन्दरगाह शहर ओडेसामा भएको मिसाइल आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

युक्रेनले शनिबार राति गरिएको रुसी आक्रमणका क्रममा १११ वटा ड्रोन र कम्तीमा दुईवटा क्रुज मिसाइल अवरोध गरेको जनाएको छ । तर, ब्यालिस्टिक मिसाइल रोक्न आवश्यक प्याट्रियट वायु प्रतिरक्षा प्रणालीका क्षेप्यास्त्रको अभावका कारण युक्रेनलाई आक्रमण रोक्न कठिन भइरहेको बताइएको छ । राष्ट्रपति जेलेन्स्कीले आफ्नो नियमित भिडियो सम्बोधनमा सहयोगी देशहरूसँगको कूटनीतिक प्रयासलाई थप प्रभावकारी बनाइने बताएका छन् । उनले भने, ‘हामीलाई हतियार आपूर्तिसम्बन्धी सम्झौताहरू अझ छिटो र पूर्ण रूपमा कार्यान्वयन हुन आवश्यक छ ।

उनले यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको सहमतिअनुसार युक्रेनलाई आफ्नै प्याट्रियट इन्टरसेप्टर मिसाइल उत्पादन गर्न अनुमति दिने सम्झौता पनि शीघ्र कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । युक्रेनले पछिल्लो एक महिनादेखि प्याट्रियट प्रणालीका लागि आवश्यक गोला–बारुदको गम्भीर अभाव झेलिरहेको र त्यसका कारण ध्वनिभन्दा धेरै गुणा तीव्र गतिमा आउने रुसी ब्यालिस्टिक मिसाइल रोक्न कठिन भइरहेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार