रुकुमपश्चिम : मुसिकोट नगरपालिका–७ मा अवस्थित ‘ठूली दह’ पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । घनाजङ्गलको बीचमा हरियाली मैदान, शान्त वातावरण, प्राकृतिक सौन्दर्य र मनमोहक दृश्य रहेको ‘ठूली दह’ क्षेत्र पुग्ने जोकोहीलाई हर्षित तुल्याउन गरेको छ ।
मध्यपहाडी लोकमार्गबाट करिब एक घण्टाको पैदलयात्रापछि पुगिने ठूली दह बिदामा घुम्न जाने पर्यटकको रोजाइमा पर्न थालेको छ । रुकुमपश्चिमका विभिन्न स्थानबाट मात्रै होइन, छिमेकी जिल्ला रुकुमपूर्वबाट समेत मानिस त्यहाँ पुग्ने गरेका छन् । विशेषगरी युवापुस्ता, विद्यार्थी, प्रकृतिप्रेमी तथा परिवारसहित घुम्न पुग्नेको सङ्ख्या पछिल्ला वर्षमा बढ्दो छ ।
चारैतिर अग्ला डाँडाहरूले घेरेको हरियाली मैदानको बीच भागमा रहेको दहले त्यहाँको प्राकृतिक सुन्दरतालाई झन् आकर्षक बनाएको छ । जङ्गलको बीचमा खुला मैदान र बीच भागमा पानी जमेर बनेको निलो दहले त्यस क्षेत्रमा पुग्नेलाई बेग्लै अनुभूति दिने गरेको ठूली दह घुम्न आएका आन्तरिक पर्यटक यामराज केसीले बताए।
वर्षात्को समयमा ठूली दह पानीले भरिभराउ छ । पानी भरिएको बेला दहको दृश्य निकै मनमोहक देखिने गरेको छ । आकाशको निलो रङ दहमा प्रतिविम्बित हुँदा यहाँको सौन्दर्य अझ लोभलाग्दो बन्ने गरेको छ । जेठको पहिलो सातादेखि दह क्षेत्रभरि फुल्ने बुकी फूल यहाँको अर्को विशेष आकर्षण हो । सेताम्मे बुकी फूल फुलेपछि दह क्षेत्र अझ रमणीय बन्ने गरेको पाइन्छ ।
बुकी फूलसँगै फोटो तथा भिडियो खिच्न आउने युवाको सङ्ख्या बढ्ने गरेको छ । सामाजिक सञ्जालमा त्यहाँका दृश्यहरू भाइरल हुन थालेपछि ठूली दहप्रति चासो बढ्दै गएको स्थानीय हुकुमबहादु पाण्डेले बताए । स्थानीय पाण्डेले भने, ‘व्यवस्थित बाटो, दह नपुग्दै थकाइ मार्न बीच भाग र आसपासका प्रतिक्षालयले आन्तरिक पर्यटकलाई थप सहज भएको छ, पछिल्लो समय स्थानीय सरकारले पनि ठूली दहलाई चासो दिएको देखिन्छ ।’





