काठमाडौँ : बैंकबाट रिसोर्ट निर्माणका लागि लिएको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। बुटवल निवासी व्यवसायी पौडेलले प्रभु बैंकबाट रिसोर्ट निर्माण गर्नका लागि लिएको कर्जा अन्यत्रै दुरुपयोग गरेको पाइएको छ।
पक्राउ परेका व्यवसायी पौडेल नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलका निकट व्यावसायिक साझेदार मानिन्छन्। पूर्वअर्थमन्त्री पौडेलले रुपन्देहीमा करोडौं मूल्य बराबरको जग्गा शशीको नाममा राखेको सूचनाका आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हाल उनीहरूमाथि सूक्ष्म अनुसन्धान गरिरहेको छ।





