काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संसदप्रति जवाफदेही बन्न सरकारलाई आग्रह गरेका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सरकार गठनको सय दिन पूरा भएसँगै ‘मधुमास’ अवधि समाप्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाह तत्काल संसदमा उपस्थित भएर जनतालाई आश्वस्त पार्नुपर्ने माग गरेका हुन् ।
उनले सरकारकै तथ्यांकअनुसार गत वर्षको तुलनामा महँगी दोब्बर बढेको उल्लेख गर्दै यसको प्रत्यक्ष असर गरिब, मजदुर र साना व्यवसायीमाथि परेको बताए । कर्मचारीको तलब बढाइए पनि आम नागरिकको आर्थिक अवस्था सुधार्न र विचौलिया नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न नसकेको उनको आरोप थियो ।
भदौ २३ र २४ गतेका घटनामा मानव अधिकार आयोगले प्रश्न उठाएका व्यक्तिलाई पुनः गृहमन्त्री बनाइएको भन्दै दुलालले सरकारको नियतमाथि प्रश्न उठाए । गृहमन्त्रीको सम्पत्ति छानबिन प्रतिवेदन सार्वजनिक नगरिएको र गम्भीर कानुनी मुद्दामा दोहोरो मापदण्ड अपनाइएको आरोप लगाउँदै उनले संसदमा स्पष्ट जवाफ दिन सरकारसँग माग गरे ।
दुलालले बहुदलीय लोकतन्त्रमा सरकारले आलोचना र प्रश्न सुन्नु तथा त्यसको जवाफ दिनु संवैधानिक दायित्व भएको स्मरण गराउँदै सरकार प्रश्नबाट भाग्न नहुने बताए ।





