बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली

२०८३ असार ३१, बुधबार

गोरखा : गोरखा नगरपालिका–११ को सार्वजनिक जग्गामा सञ्चालित बाह्रकिलो बजारमा बनेका संरचनालाई खाली गराइएको छ ।

नगरपालिका, जिल्ला प्रशासन कार्यालय, डिभिजन वन कार्यालय तथा ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहको संयुक्त पहलपछि सार्वजनिक जग्गामा २० वर्षदेखि सञ्चालनमा रहेको सो बजारका संरचनालाई हटाइएको हो । निरन्तरको सूचना र समन्वयपछि पसलवालाहरूले मङ्गलबार स्वःस्फुर्त आफ्ना घरटहरा खाली गरेका हुन् ।

वन क्षेत्रभित्र रहेका ३५ भन्दा धेरै घरटहरा यही असार ३० गतेभित्र खाली गर्न समयसीमा दिएर निरन्तर सचेत र सुसूचित गरेपछि पसल सञ्चालकहरूले त्यहाँका घरटहरा छाड्न तयार भएका डिभिजन वन कार्यालयले जनाएको छ । नगरपालिकाभित्रका सार्वजनिक जग्गा हडपेर बनेका घरटहरा हटाउने गोरखा नगरपालिकाको कार्यपालिकाले निर्णय गरेको थियो ।

सोही निर्णयपछि जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी वन डिभिजन कार्यालय, सबडिभिजन कार्यालय, ओख्लेपाखा सामुदायिक वन उपभोक्ता समूहले सो सार्वजनिक जग्गा खाली गर्न सूचित गरेको थियो । बारम्बार लिखित तथा मौखिक गरेर सार्वजनिक जग्गा खाली गर्न आह्वान गरेपछि पसल धनीहरूले घरटहरा खाली गरेका वन डिभिजन कार्यालयका प्रमुख मदनमोहन शाण्डिल्यले जानकारी दिए ।

सबै घरटहरा खाली भइसकेपछि त्यसलाई हटाएर वन क्षेत्रलाई तारबार गरी सुरक्षित गरिने डिभिजनल वन अधिकृत शाण्डिल्यले बताए । आँबुखैरेनी–गोरखा सडकबाट छेपेटारतर्फ जाने चोकमा सार्वजनिक जग्गा कब्जा गरी विगत २० वर्षदेखि बजार सञ्चालनमा छ । विसं २०७३ मा हटाउने प्रयास भए पनि केही समयपछि फेरि बजार पुनःस्थापित भएको थियो ।

“अब फेरि वनको जग्गा कब्जा गर्न नमिल्नेगरी तारबार गर्नेछौँ”, उनले भने, “त्यसका लागि हामीले नापजाँच गरिसकेका छौँ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार