काठमाडौँ : नेकपाका सांसद महेन्द्रबहादुर शाहीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सदनमा जवाफ नआएसम्म विरोध जारी रहने बताएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय हित र सार्वभौमिकता माथि जोडिएका विषयमा सरकार मौन बस्नु सान्दर्भिक नहुने बताए।
उनले भने,’नेपाली जनताको मुख्य चाहना भनेको भौतिक पूर्वाधार विकास हो, आर्थिक समृद्धि हो, सुशासन हो, सामाजिक न्याय हो। जनताले त्यो खोजेका चाहिँ छन्। तर आज हाम्रो राजनीतिका मूल मुद्दाभन्दा सस्तो लोकप्रियता, प्रचारमुखी गतिविधि तर्फ बढी केन्द्रित भएका छौँ। यस्ता गतिविधिहरूले देश बन्दैन, देश बर्बादीको दिशामा जान्छ। यसका हामीले बेलैमा सोच्न जरुरी छ।’
उनले सरकार यसै गरी अघि बढे समाज दुर्घटनातिर जाने खतरा दिन प्रतिदिन बढ्दै जाने बताए।
उनले भने, ‘पुराना राजनीतिक पार्टीहरूले केही गरेनन्, सबै बिगारे, बर्बाद गरे भन्ने कुराको भाषण गर्न त सजिलो छ। तर आज हामीले के गर्यौँ भन्ने कुराको उत्तर जनतालाई दिन निकै गाह्रो विषय हो।’





