बैंकक : थाइल्यान्डको राजधानी बैंककस्थित एक लोकप्रिय लाइभ म्युजिक पबमा भएको भीषण आगलागीमा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । घाइते भएका थप दुई जनाको उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या बढेको हो । इरावान आपत्कालीन चिकित्सा केन्द्रका अनुसार बुधबारसम्म ३० जना विभिन्न अस्पतालमा उपचाररत छन् ।
तीमध्ये १५ जनाको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको छ भने ४४ जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । थाइल्यान्डमा पछिल्लो १७ वर्षयताकै सबैभन्दा घातक मानिएको यो आगलागी आइतबार राति रोङ बियर ना लाडफ्राओ नामक पबमा भएको थियो । आगो नियन्त्रणमा लिन दमकलकर्मीलाई करिब ३० मिनेट लागेको थियो ।
फरेन्सिक मेडिसिन संस्थानका प्रमुख विरुन सुपासिङ्सिरिप्रिचाका अनुसार अधिकांशको मृत्यु धुवाँका कारण निसास्सिएर भएको हो भने केहीको मृत्यु आगोले पोलेर भएको छ । स्थानीय प्रहरीका अनुसार मृत अवस्थामा फेला परेका अधिकांश मानिस झ्याल नभएका शौचालयमा थिए ।
आगलागीबाट बच्न उनीहरू त्यहाँ पुगेका हुनसक्ने अनुमान गरिएको छ । आगलागीको वास्तविक कारण अझै खुल्न सकेको छैन । प्रहरीले पबमा लापरबाही भएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान गरिरहेको छ । विशेष गरी आपत्कालीन निकास मार्ग अवरुद्ध गरिएको थियो कि थिएन भन्ने विषयमा छानबिन भइरहेको छ ।
अधिकारीहरूका अनुसार छतमा जडान गरिएको एयर कन्डिसनरमा भएको विद्युत् सर्ट सर्किटका कारण आगलागी सुरु भएको हुन सक्छ । केही विज्ञले भने मञ्च वरिपरि प्रयोग गरिएका सजिलै बल्ने ध्वनि अवरोधक सामग्रीमा आगो सल्किएर अत्यधिक ताप र धुवाँ फैलिएको हुनसक्ने बताएका छन् ।
बुधबार केही जीवित बचेका व्यक्ति र मृतकका परिवारका सदस्यहरू प्रहरी कार्यालय पुगेर बयान दिएका, आफ्ना सामान फिर्ता लिएका तथा क्षतिपूर्ति माग गरेका छन् । पब सञ्चालक पक्षका कानुन व्यवसायीका अनुसार प्रारम्भिक चरणमा जीवित बचेका व्यक्ति तथा मृतकका परिवारलाई १० हजार थाई भाट (करिब ३०० अमेरिकी डलर) क्षतिपूर्ति उपलब्ध गराइनेछ ।





