नयाँ दिल्ली : ओमानको तट नजिक साइप्रसको झण्डा बोकेको कन्टेनर जहाजमा इरानले गरेको आक्रमणपछि बेपत्ता भएका भारतीय नागरिकको मृत्यु भएको उनका परिवारले पुष्टि गरेका छन् ।
३० वर्षीय हेरम्ब कर्मार्कर उक्त जहाजमा समुद्री इन्जिनियरका रूपमा कार्यरत थिए । उनका ससुरा विवेक टन्डनले जहाज सञ्चालन गर्ने कम्पनी जीएफएस ग्यालेक्सीले कर्मार्करको मृत्यु भएको जानकारी दिएको बताएका छन् । सम्बन्धित जहाजलाई आफ्नो मार्ग सच्याउन चेतावनी दिँदा पनि अनधिकृत मार्गबाट अघि बढ्न खोजेकाले आक्रमण गरिएको दाबी इरानले गरेको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार जहाजमा रहेका ११ भारतीयमध्ये १० जनाको सकुशल उद्धार गरिएको थियो । कर्मार्करको मृत्युबारे मन्त्रालयले भने तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । पछिल्ला तीन दिनमा पश्चिम एशिया क्षेत्रमा ज्यान गुमाउने कर्मार्कर दोस्रो भारतीय नाविक हुन् ।
यसअघि संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयले दुईवटा इमिराती तेल ट्याङ्कर अल बह्या र मोम्बासा बी माथि भएको आक्रमणमा एक भारतीय नाविकको मृत्यु भएको थियो । यस घटनामा अन्य आठ जना घाइते भएको खबर आएको थियो ।





