कास्की : जिल्ला समन्वय समिति कास्कीले वर्षाको समयमा जिल्लाभर नदीजन्य सामग्री उत्खननमा रोक लगाएको भए पनि रातिको समयमा नदीबाट अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसार भइरहेको पाइएको छ ।
जिल्लाका पाँचवटै स्थानीय तहले पनि यस अवधिमा नदीजन्य सामग्री निकाल्न रोक लगाएका छन् । त्यसका बाबजुद चोरीछिपी उत्खनन र बिक्री भइरहेको भन्दै नागरिकबाट गुनासा आएपछि प्रहरीले निगरानी बढाएको छ । यसै क्रममा पोखरा महानगरपालिका–२५ स्थित सेती गण्डकी नदीबाट अवैध रूपमा बालुवा उत्खनन भइरहेको अवस्थामा प्रहरीले तीन वटा टिप्पर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति करिब १०ः२५ बजे सेती गण्डकी नदी किनारमा बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बालुवा ‘लोड’ गरिरहेका तीन वटा टिप्पर र चालकलाई नियन्त्रणमा लिएको हो । प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन र चालकलाई आवश्यक कारबाहीका लागि पोखरा महानगरपालिकामा पठाइएको थियो ।
महानगरपालिकाले प्रत्येक सवारीसाधनलाई रु १५ हजारका दरले जरिवाना गरेर छाडेको उनले बताए । प्रहरी नायब उपरीक्षक पासवानले नदीजन्य पदार्थको अवैध उत्खनन र ओसारपसारविरुद्ध निगरानी तथा कारबाहीलाई अझ प्रभावकारी बनाइने बताए । उनले प्राकृतिक स्रोतसाधनको संरक्षणमा सहयोग गर्न र यस्ता गतिविधिबारे जानकारी भए तत्काल प्रहरीलाई सूचना दिन सर्वसाधारणसँग आग्रह गरे ।
अवैध कार्यमा संलग्नलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रतिबद्ध रहेको उनको भनाइ छ । जिल्ला समन्वय अधिकारी नवराज बरालले ढुंगा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ अनुसार असारदेखि भदौ मसान्तसम्म नदीबाट उत्खनन र सङ्कलन गर्न नपाइने बताए ।
विकास निर्माणका काम प्रभावित नहुने गरी कानुन र मापदण्डको पालना गर्नु आवश्यक रहेको बताउँदै उनले अवैध उत्खनन रोक्न सबै सरोकारवाला निकाय, व्यवसायी र स्थानीय तहलाई जिम्मेवार बन्न आग्रह गरे । निर्णयको अवज्ञा गर्ने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने उनले चेतावनी दिए ।





