काठमाडौं : काठमाडौं महानगरपालिका–४ कतार भिसा सेन्टरअगाडि सडकखण्डमा भारतीय नम्बर प्लेटको कारसहित पाँच सवारीसाधन एकआपसमा ठोक्किँदा १० जना घाइते भएका छन्।
चाबहिलबाट चक्रपथतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको बीआर०६ डीडी ६०६३ नम्बरको कार, बा २ ज ३५७८ नम्बरको ट्याक्सी, लु ११ प ४९७५ नम्बरको पल्सर मोटरसाइकल, बा ७३ ज ३७२३ नम्बरको मोटरसाइकल र बा.प्र.०२–०६८ प १०५६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
घाइतेमध्ये कुन्तिमाया लिम्बूको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम रहेको छ। सबै घाइतेको महाराजगञ्जस्थित त्रि.वि. शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न सबै सवारीसाधन प्रहरीको नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





