काठमाडौंं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नयाँ शैलीबाट अघि बढ्ने बताएका छन् ।
शुक्रबार पार्टीको नयाँ वेबसाइट र मोबाइल एप सार्वजनिक कार्यक्रममा उनले थुप्रै कुरामा नवीकृत भएर अघि बढ्ने बताए । “हामी नयाँ शैली र परिपार्टीले अघि बढ्छौँ । हामीले धक्का खाएको छौँ, सिद्धिएको होइन,” ओलीले भने । उनले एमालेलाई एक्लाउने प्रयास अहिले पनि अघि बढिरहेको दाबी गरे । उनले एमाले आफ्नो स्वतन्त्र हैसियत भएको पार्टी भएको बताए ।
“हामी यस्तो लहरो होइनौँ, जसले अर्कोलाई नसमाती उठ्न सक्दैन । हामी दह्रो, मजबुत विशाल वृक्ष हौँ,” उनले भने, “हामी अरुको बलमा नभएर आफ्नै बलमा उम्रँदै, हुर्कंदै अनेक कुराको सामना गरेर आएका छौँ ।”





