लुम्बिनी प्रदेशमा सडक दुर्घटनाबाट ५८५ को मृत्यु

२०८३ श्रावण १२, मंगलवार

बुटवल : गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका सवारी दुर्घटनामा परी ५८५ जनाको मृत्यु भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सो अवधिमा प्रदेशभर कूल चार हजार ७९७ वटा सवारी दुर्घटना भएका थिए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) निशान थापाले दुर्घटनामा परी ४२४ पुरुष, ११० महिला र ५१ बालबालिकाको ज्यान गएको जानकारी दिए । दुर्घटनामा परी एक हजार ७९९ जना गम्भीर घाइते भएका छन् भने छ हजार २५९ जना सामान्य घाइते भएका छन् ।

तीव्र गति, मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउनु दुर्घटनाको मुख्य कारण रहेको एसपी थापाले बताए । दुर्घटनामा संलग्न कूल छ हजार ८२२ सवारी साधनमध्ये सबैभन्दा बढी मोटरसाइकल र स्कुटर रहेका छन् । तथ्याङ्कअनुसार चार हजार २८६ वटा मोटरसाइकल तथा स्कुटर दुर्घटनामा परेका छन् ।

यस्तै ६६६ जिप तथा कार, ५०९ टेम्पो, ४९५ शारीरिक शक्तिले चल्ने सवारी साधन, २१० बस तथा २०४ वटा ट्रक र ट्याक्टर दुर्घटनामा संलग्न रहेका छन् । यस्तै सोही आर्थिक वर्ष २०८२/८३ मा ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख २० हजार ४८ वटा सवारी साधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट १३ करोड ५८ लाख छ हजार ६३ रुपैयाँ राजस्व सङ्कलन भएको एसपी थापाले बताए । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार