काठमाडौं : मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको बुढानीलकण्ठस्थित लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटल र बालुवाटारस्थित टेस्ला डाएग्नोस्टिकसँग विभिन्न सेवामा छुट दिने गरी व्यावसायिक सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका ग्राहकले लेमन ट्री प्रिमियर बुढानीलकण्ठ होटलमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म र स्पा सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन्।
त्यस्तै, टेस्ला डाएग्नोस्टिकमा प्याथोलोजी टेस्ट, एमआरआई, एक्स–रे, डेन्टल, औषधिलगायत विभिन्न सेवामा ५ देखि १० प्रतिशतसम्म छुट उपलब्ध हुने बैंकले जनाएको छ। उक्त छुट लिन बैंकका ग्राहकले मान्य डेबिट कार्ड वा प्रिभलेज कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा पनि छुट सुविधा प्राप्त गर्न सकिनेछ।

मुक्तिनाथ विकास बैंकले ग्राहकको आवश्यकता तथा बजारको बदलिँदो परिवेशअनुसार सरल, सहज र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउँदै आएको जनाएको छ। बैंकले हालै ग्राहकलाई लक्षित गर्दै आधार दरमा शून्य दशमलव शून्य प्रतिशत थप प्रिमियममा अटो लोन उपलब्ध गराउने विशेष योजना पनि ल्याएको छ।




