काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले बागमती प्रदेशको सत्ता समीकरणमा नेकपा एमालेले अनैतिक खेल खेलेको आरोप लगाएका छन् ।
संसदीय दलका नेता उद्दव थापाले एमाले नेतृत्वको सरकारलाई समर्थन गरेको सन्दर्भमा बोल्दै उनले एमालेले संस्थागत छलफल गर्नुको सट्टा सांसदहरूलाई व्यक्तिगत रूपमा प्रभावमा पार्न खोजेको बताए ।
बिहीबार कार्यसम्पादन समितिको बैठकले थापालाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको छ । साथै उनलाई प्रदेशसभा सदस्यबाट समेत हटाउने भनिएको छ । बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै लिङदेनले निर्णयको प्रतिरक्षा गरे ।
पार्टी निर्णय लत्याएर थापाले अनुशासन उल्लङ्घन गरेकाले कारबाही गरिएको उनको भनाइ छ । सरकारमा जाने सबैलाई कारवाही गरिने पनि उनले बताए ।





