बागलुङ : काठेखोला गाउँपालिका–३, माझँकटेरामा धारिलो हतियार प्रहार गरी लेबर काम गर्ने एक जनाको हत्या भएको छ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार ढोरपाटन नगरपालिका–७ स्थायी घर भई हाल ढोरपाटन–५ बस्दै आएका ३६ वर्षीय अशोक खत्रीको हत्या भएको हो। उनी काठेखोला–३, माझँकटेरास्थित श्री निर्मल आधारभूत विद्यालयको पुरानो भवनमा लेबर काम गर्दै बस्दै आएका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा खत्रीलाई उनीसँगै काम गर्ने ढोरपाटन नगरपालिका–६ का २५ वर्षीय अर्जुन घर्ती मगरले धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको प्रहरीले जनाएको छ। घटनाको सूचना पाएलगत्तै स्थानीयसँग समन्वय गरी प्रहरीले घटनापछि भाग्न नपाउँदै अर्जुन घर्ती मगर र उनीसँगै काम गर्ने ढोरपाटन–५ का ३६ वर्षीय रिखे दमाईलाई काठेखोला–३, धम्जा माझँकटेराबाट पक्राउ गरेको थियो।
प्रहरीका अनुसार तीनै जना यसअघि पनि सँगै काम गर्दै आएका थिए। अनुसन्धानका क्रममा उनीहरूबीच केही दिनअघि फोनमा ठूलो स्वरमा कुरा गरेको विषयलाई लिएर सामान्य विवाद भएको खुलेको छ। भोलिपल्ट काम सकेपछि तीनै जना सँगै बसेर मादक पदार्थ सेवन गर्ने क्रममा अघिल्लो दिनको विवाद फेरि बल्झिएको थियो।
सोही क्रममा अर्जुन घर्ती मगरले अशोक खत्रीमाथि धारिलो चक्कु प्रहार गरेको र उनको मृत्यु भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। मृतक खत्रीका १२, ९ र ७ वर्षका तीन छोरा छन्। उनकी श्रीमती गर्भवती रहेको र परिवार उनको आम्दानीमा निर्भर रहेको जनाइएको छ। मृतककी श्रीमती दिलमाया भण्डारीले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएकी छन्।
प्रहरीले घटनामा प्रयोग भएको चक्कु तथा रगत लागेका कपडालगायतका दशी प्रमाणसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेका दुवै जनालाई अदालतबाट म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





