काठमाडौँ : फिल्म ‘मायालु’मा आकृति बुढाथोकी मुख्य भूमिकामा देखिने भएकी छन् । निर्देशक प्रवेश पौडेलले फिल्मको मुख्य भूमिकामा बुढाथोकीलाई अनुबन्धित गराएका हुन् ।
आकृतिको यो दोस्रो फिल्म हुनेछ । यसअघि उनले ‘मुक्तिपुर’मा अभिनय गरेकी छिन्, जुन प्रदर्शनमा आउदैछ । नाट्य क्षेत्रबाट अभिनय यात्रा सुरु गरेकी बुढाथोकीले मोडलिङ समेत गरेकी हुन् । निर्देशक पौडेलले भने यसअघि ‘अमेरिका बोइज’ र ‘बिहे पास’ निर्देशन गरेका थिए । ‘मायालु’ उनको तेस्रो फिल्म हुनेछ ।
फिल्ममा यसअघि हिरोको रुपमा कबीर खड्का अनुबन्धित भएका छन् । फिल्ममा कबिर र आकृतिको जोडी अभिनय रहनेछ । निर्देशक पौडेलका अनुसार ‘मायालु’ त्रिकोणात्मक प्रेम कथामा आधारित हुनेछ । निर्देशक पौडेलकै कथा रहेको फिल्मको पटकथा अनिल कुर्मीको पटकथा रहनेछ ।
फिल्मको छायांकन अस्ट्रेलिया र नेपालमा हुनेछ । सितारा र कबीर खड्का फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सुरेन्द्र रावल रहेका छन् । फिल्मका सह–निर्माता विवेक पौडेल हुन् ।






