काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा भोलिदेखि सुरु हुने ‘एचपी न्युबि्रकेन्ट्स प्रिजेन्ट्स नाडा अटो शो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ।
नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले सोमबार पत्रकार सम्मेलनमार्फत प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिएको हो।नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार सोमबारसम्म प्रदर्शनीस्थलमा २१५ भन्दा बढी स्टल निर्माण भइसकेका छन्। उनले अघिल्ला वर्षको तुलनामा यस वर्ष स्टलको व्यवस्थापन अझ फराकिलो र व्यवस्थित बनाइएको दाबी गरे।
प्रदर्शनीस्थललाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पार्ट्स तथा ग्यारेज उपकरण, ‘मेड इन नेपाल/मेड फर नेपाल’ पाभिलियन र अन्तर्राष्ट्रिय बिजनेस पाभिलियन गरी विभिन्न क्षेत्रमा विभाजन गरिएको छ।
अवलोकनकर्ताको सुविधालाई ध्यानमा राख्दै प्रदर्शनीमा सवारीसाधन, वित्त, बीमा तथा सर्भिस र पार्ट्ससम्बन्धी सामग्रीलाई छुट्टाछुट्टै क्षेत्रमा राखिएको नाडाले जनाएको छ। यसले नयाँ सवारीसाधन खरिद गर्न चाहने उपभोक्तालाई मूल्य, सुविधा, वित्तीय विकल्प, बीमा तथा सर्भिससम्बन्धी जानकारी एउटै स्थानमा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।
नाडाका अनुसार प्रदर्शनीमा ५३ वटा सवारी ब्रान्ड, ७० वटा पार्ट्स तथा सेवा कम्पनी र करिब ११ वटा बैंक तथा वित्तीय संस्थाको सहभागिता रहेको छ। अवलोकनकर्ताका लागि अग्रिम टिकट बुकिङको व्यवस्था पनि गरिएको छ। खल्ती एप वा आधिकारिक क्यूआर कोडमार्फत टिकट खरिद गर्न सकिने व्यवस्था गरिएको नाडाले जनाएको छ। सर्वसाधारणका लागि प्रवेश शुल्क रु. २०० तथा विद्यार्थीका लागि रु. १५० तोकिएको छ।
प्रदर्शनीमा आउने अवलोकनकर्ताको सुविधाका लागि दुई स्थानमा पार्किङको व्यवस्था गरिएको छ। नेपाल प्रहरी क्लबको ब्लु पाभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेसनल ट्रेडिङ परिसरमा सवारीसाधन पार्किङ गर्न सकिने नाडाले जनाएको छ। प्रदर्शनीस्थलमा ट्राफिक व्यवस्थापन सूचना डेस्क, मिडिया डेस्क, क्याफेटेरिया तथा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराइनेछ। साथै, सीसीटीभी निगरानी र अग्नि नियन्त्रण प्रणालीको समेत व्यवस्था गरिएको नाडाले जनाएको छ।
नाडाका अनुसार प्रदर्शनीस्थललाई अवलोकनमैत्री बनाउन पर्याप्त बत्ती, एसी तथा पंखाको व्यवस्था गरिएको छ। विभिन्न ब्रान्ड तथा सेवा प्रदायकहरूले नयाँ उत्पादन, प्रविधि र सेवाबारे जानकारी दिने भएकाले यस वर्षको अटो शो उपभोक्ता तथा अटोमोबाइल व्यवसायका लागि विशेष महत्वको हुने आयोजकको भनाइ छ।
भोलि बिहान साढे १० बजेदेखि सुरु हुने प्रदर्शनीको उद्घाटन उपराष्ट्रपति रामसहायप्रसाद यादवले गर्ने कार्यक्रम रहेको छ। प्रदर्शनीमा नयाँ सवारीसाधन, अटोमोबाइल प्रविधि तथा विभिन्न सेवा र उत्पादनबारे जानकारी लिन सर्वसाधारणले सहभागिता जनाउन सक्नेछन्।






