काठमाडौं : विद्युतीय सवारीको बजार विस्तार भइरहेका बेला वुलिङले नेपाली बजारमा आफ्ना विद्युतीय सवारीका ट्रयाक्सन मोटर र उच्च भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध गराउने भएको छ।
तोकिएको अवधिमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरमध्ये जुन पहिले पुग्ने कम्पनीले जानकारी दिएको छ। त्यही अवधिसम्म वारेन्टी लागू हुने कम्पनीले जनाएको छ। विद्युतीय सवारीमा ब्याट्री र मोटरको दीर्घकालीन विश्वसनीयतालाई महत्त्वपूर्ण मानिने भएकाले वारेन्टीले ग्राहकको स्वामित्व अनुभवमा थप भरोसा बढाउने कम्पनीको दाबी छ।
नेपालमा वुलिङका एक्सियन, मिनी ईभी र डेरियन गरी तीन मोडल उपलब्ध गराएका छन्। यी सवारीको आधिकारिक आयात तथा वितरण प्यारामाउन्ट मोटर्स प्रालिले गर्दै आएको छ।
वुलिङ एक्सियन ५ प्लस २ सिट क्षमताको विद्युतीय एसयूभी हो। यसमा ६९.२ किलोवाट घण्टा क्षमताको ब्याट्री, १५० किलोवाटको मोटर र ३१० न्यूटन मिटर टर्क रहेको छ। कम्पनीले यसको एकपटकको चार्जमा ५३० किलोमिटरसम्मको दूरी दाबी गरेको छ।
मिनी ईभी चार सिट क्षमताको कम्प्याक्ट विद्युतीय कार हो। यसमा २५.१ किलोवाट घण्टाको ब्याट्री र ३० किलोवाट क्षमताको मोटर रहेको छ। कम्पनीका अनुसार यसले एकपटकको चार्जमा ३०१ किलोमिटरसम्म दूरी तय गर्न सक्छ।
त्यस्तै, डेरियन सात सिट क्षमताको विद्युतीय एमपीभी हो। यसमा ६९.२ किलोवाट घण्टाको ब्याट्री, १५० किलोवाटको मोटर र ३१० न्यूटन मिटर टर्क रहेको छ। कम्पनीले यसको एकपटकको चार्जमा ५४० किलोमिटरसम्मको दूरी दाबी गरेको छ।
तीनवटै मोडलमार्फत शहरी आवागमनदेखि पारिवारिक तथा बहुउपयोगी यात्राका लागि फरक क्षमताका विद्युतीय सवारी उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ।









