मैले आठवटा नोबेल शान्ति पुरस्कार पाउन योग्य काम गरेको छु : ट्रम्प

२०८३ आश्विन २४, शनिबार

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी न्यायविद् तथा संयुक्त राष्ट्रसंघकी पूर्वमानव अधिकार प्रमुख नवी पिल्लेलाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको विषयमा कडा रोष प्रकट गरेका छन्। ट्रम्पले नोबेल समितिले आफ्नो योगदानको अवमूल्यन गरेको दाबी गर्दै आफूलाई एउटा होइन, कम्तीमा आठवटा नोबेल शान्ति पुरस्कार पाउन योग्य रहेको बताएका छन्।

ट्रम्पले आफूले विश्वका आठवटा ठुला युद्ध तथा द्वन्द्वहरू (जस्तै— भारत र पाकिस्तान, इजराइल र हमास, कंबोडिया र थाइल्याण्ड, कोसोभो र सर्बिया, कांगो र रुवान्डा, इजराइल र इरान, इजिप्ट र इथियोपिया, तथा आर्मेनिया र अजरबैजान) सुल्झाएको दाबी गरेका छन्। उनले भारत र पाकिस्तानबीचको युद्ध रोक्नु नै नोबेल पुरस्कारका लागि पर्याप्त आधार रहेको तर्क गरेका छन्।

ट्रम्पले पुरस्कार विजेता नवी पिल्लेप्रति असन्तुष्टि जनाउँदै उनी आम जनताबीच अपरिचित रहेको र स्पष्ट रूपमा इजराइलविरोधी छिन् भनी आरोप लगाएका छन्। संयुक्त राष्ट्रसंघमा रहेर काम गर्ने एक ‘उदारवादी’ व्यक्तिलाई यो सम्मान दिनु नर्वेको नोबेल समितिले गरेको गम्भीर त्रुटि भएको उनको भनाइ छ।

आफूले इरानलाई आणविक हतियार बनाउनबाट रोकेको, मध्यपूर्वलाई बर्बादीबाट बचाइएको, विश्वभरबाट सयौँ राजबन्दी तथा बन्धकहरूलाई छुटाउन भूमिका खेलेको र इतिहासमै सबैभन्दा धेरै मानिसको ज्यान बचाइएको ट्रम्पले दाबी गरेका छन्।

संयुक्त राष्ट्रसंघ वा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगबिना नै आफूले कूटनीतिक सफलता हासिल गरेको दाबी गर्दै उनले व्यक्तिगत रूपमा आफूभन्दा पनि आफूले प्रतिनिधित्व गर्ने संयुक्त राज्य अमेरिकालाई नै नोबेल शान्ति पुरस्कार प्रदान गरिनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार