बाँदरको आतङ्कपछि अदुवा र बेसारखेती गर्दै किसान

२०८३ आश्विन २४, शनिबार

सुनसरी : बाँदरको आतंकका कारण धरान उपमहानगरपालिका-२० विष्णुपादुकाका किसान परम्परागत धान, मकै र कोदो खेती छाडेर अदुवा तथा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

बाँदरले बाली नष्ट गर्न थालेपछि कतिपय किसानले खेतबारी बाँझै छाडेका छन् भने केहीले बाँदरले कम क्षति पुर्‍याउने अदुवा र बेसार खेती गर्न थालेका हुन् ।

कुनै समय अम्लिसो उत्पादनका लागि परिचित यस क्षेत्रमा बाँदरले अम्लिसोको कलिलो सुइरोसमेत खाइदिने गरेपछि यसको खेती घट्दै गएको स्थानीय किसानको भनाइ छ । धरान(२० का किसान पदम राईले व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका छन् ।

उनले वार्षिक १० देखि ११ क्विन्टलसम्म अदुवा उत्पादन गरी बिक्री गर्दै आएको बताए । “पहिले मकै खेती गर्थे । बाँदरले दुःख दिन थालेपछि अदुवा खेती गर्न थालेको हुँ । बाँदरले अदुवा नखाने भएकाले यसको खेती गर्न सहज भएको छ”, उनले भने ।

मौसमले साथ दिएमा अदुवा खेतीबाट मनग्य आम्दानी हुने राईले बताए । गत वर्षको तुलनामा अहिले बजारमा अदुवाको मूल्य राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक रहेको उनको भनाइ छ । कहिलेकाहीँ सामान्य रोग तथा कीराको सङ्क्रमण देखिए पनि ठूलो नोक्सान हुने अवस्था नरहेको उनले बताए ।

 अदुवासँगै लसुन र बेसार खेती गर्दै आएका राईले वार्षिक रु. सात लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए । मौसम अनुकूल हुनुका साथै रोग तथा कीराको सङ्क्रमण नदेखिए अदुवा खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ ।

शिक्षण पेसा छाडेर व्यावसायिक अदुवा खेतीमा लागेका अर्का किसान तिलक राईले पनि अदुवा खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । उनले वार्षिक सातदेखि १० क्विन्टलसम्म अदुवा उत्पादन हुने गरेको बताए । गत वर्ष अदुवा खुद्रा बजारमा प्रतिकिलो रु. १५० देखि रु. २८० सम्ममा बिक्री भएकाले यस वर्ष पनि सोहीअनुसार मूल्य आउनेमा सन्तोषजनक रहेको उनले बताए ।

अदुवा खेतीका लागि केही भिरालो ठाउँ र खुकुलो माटो आवश्यक पर्ने उनले बताए । “जमिन राम्रो भयो भने अदुवा खेतीबाटै मनग्य आम्दानी गर्न सकिन्छ । पहिले गाउँमा अधिकांश किसानले मकै र कोदो खेती गर्थे । अहिले बाँदरको समस्याका कारण धेरैले अदुवा र बेसार खेती गर्न थालेका छन्”, उनले भने ।

राईका अनुसार विष्णुपादुकामा अहिले २०० भन्दा बढी किसान अदुवा खेतीमा संलग्न छन् । उनले अदुवा खेतीसँगै अम्लिसो, बेसार, अकबरे खुर्सानीलगायत कृषि उपज उत्पादनसम्बन्धी तालिमसमेत दिँदै आएका छन् । यहाँ उत्पादित अदुवा र बेसार किसानले बिक्रीका लागि धरानस्थित कृषि उपज बजार तथा धरान–११ को मंगलबारे बजारमा ल्याउने गरेका छन् ।

धरान–२० का स्थानीय ध्रुव साम्पाङ राईले बाँदरको आतंकका कारण खेतीपाती गर्नै छाड्नुपर्ने अवस्था आएको बताए । बाँदरको समस्याकै कारण सो क्षेत्रमा करिब ८० प्रतिशत जग्गा बाँझो रहेको उनको भनाइ छ । बाली जोगाउन बाँदरको दिनरात निगरानी गर्नुपर्ने भएकाले खेती गर्न कठिन भएको उनले बताए ।

बाँदर नियन्त्रणका लागि स्थानीय तहले विगतमा गरेका प्रयाससमेत प्रभावकारी हुन नसकेको साम्पाङको भनाइ छ । “बाँदरलाई नियन्त्रण गरेर अन्यत्र पठाउँदा पनि फेरि फर्किएर आउने समस्या छ । नियन्त्रण गरिएका बाँदरलाई कहाँ व्यवस्थापन गर्ने भन्ने पनि चुनौती छ”, उनले भने । बाँदरको समस्या धरानमा मात्र नभई देशका विभिन्न ठाउँमा रहेको उल्लेख गर्दै साम्पाङले यसको दीर्घकालीन समाधानका लागि संघीय सरकारले स्पष्ट नीति र प्रभावकारी योजना बनाउनुपर्ने आवश्यकता औँल्याए ।

विगतको तुलनामा यस वर्ष अदुवाको मूल्य बढेको धरानस्थित कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईले बताए । धरान आसपासका क्षेत्रमा उत्पादित अदुवाका साथै कोशी कोरिडोरअन्तर्गतका पहाडी जिल्लाबाट पनि ठूलो परिमाणमा अदुवा बजारमा आउने गरेको उनले जानकारी दिए ।

सगरमाथा कोरिडोरअन्तर्गत सिन्धुलीलगायत क्षेत्रबाट समेत किसान अदुवा बिक्रीका लागि धरान आउने गरेको उनको भनाइ छ । विशेष गरी जेठदेखि भदौसम्म अदुवाको बिक्री बढी हुने गरेको भट्टराईले बताए । धरान कृषि उपज बजारबाट दैनिक १०० देखि २०० मेट्रिक टनसम्म अदुवा बिक्री हुने गरेको छ ।

धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङलगायत जिल्लाबाट समेत किसानले अदुवा धरान बजारमा ल्याउने गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार