फिल्म ‘बाटुलो जून’को पहिलो गीत सार्वजनिक

२०८३ आश्विन २५, आईतवार

काठमाडौं :  भुवन केसीको निर्देशनमा बनेको फिल्म ‘बाटुलो जून’को पहिलो गीत ‘मेरो मन चोर्‍यौ सुटुक्कै’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले घटस्थापनाको अवसर पारेर आइतबार फिल्मको गीत सार्वजनिक गरेको हो।

युग भुसालको शब्द तथा संगीत रहेको गीतमा तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अनमोल केसी र नव-अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। विक्रम स्वारको कोरियोग्राफी रहेको गीतमा अनमोल र प्रिन्सीलाई प्रेमिल अवतारमा प्रस्तुत गरिएको छ।

गीतको भिडिओमा पुरानो समयको परिवेशलाई चित्रण गरिएको छ। गीतमार्फत फिल्मको टिजरमा देखाइएको कथा र परिवेशलाई थप विस्तार गर्ने प्रयास गरिएको छ।

विशेषगरी गीतमा अनमोलको हाउभाउ र प्रस्तुतिले उनका पिता भुवन केसीको पुरानो फिल्मी छविको झल्को दिन्छ। टिजर सार्वजनिक हुँदा पनि अनमोलको लुकलाई भुवनको पुरानो शैलीसँग तुलना गरिएको थियो। गीतमा प्रिन्सीको नृत्य र हाउभाउ पनि आकर्षक रूपमा प्रस्तुत गरिएको छ।

‘बाटुलो जून’ मा अनमोल र प्रिन्सीसँगै भुवन केसी, गरिमा पन्त, न्यान्सी खड्का, प्रकाश घिमिरेलगायत कलाकारको अभिनय छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ।

जिया केसी र भविष्य खड्का निर्माता रहेको फिल्मका सह-निर्माता विवेक थापा हुन्। ‘बाटुलो जून’ कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउने तय छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार