काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपद् व्यवस्थापनमा सरकार पूर्ण रूपमा चुकेको भन्दै तीव्र आलोचना गरेका छन्।
गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीपछिको अवस्थालाई लिएर सरकारको ध्यानाकर्षण गराउँदै ओलीले राष्ट्रिय विपत्तिको समयमा समेत सरकारले साँघुरो मन देखाएको आरोप लगाए।
पार्टीको मिसन जागरण अभियान अन्तर्गत आइतबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारी स्रोतसाधनको दोहन भएको गम्भीर आरोप लगाए। विपद्को बेला हेलिकोप्टरको दुरुपयोग भएकोतर्फ लक्षित गर्दै उनले भने, ‘सरकारी हेलिकोप्टर कुनै संस्थाको निजी सम्पत्तिजस्तो, कहिल्यै हेलिकोप्टर चढ्न नपाएको छ भने चढाउने अवसर मिलेजस्तो, त्यस्तो खालको स्थिति रह्यो।’
यसअघि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका बेला पनि उद्धारमा हेलिकोप्टरको चरम दुरुपयोग भएको स्मरण गराउँदै उनले थपे, ‘यसअघि भोटेकोशी र त्रिशूलीमा बाढी आउँदा सरकारले हेलिकोप्टर नियन्त्रण गर्ने, दुरुपयोग गर्ने तथा राहत र उद्धारका कार्य समयमै नगरेको अवस्था थियो। यसपटक त्यस्ता कुरा नदोहोरिऊन् भनेर म सरकारलाई आग्रह गर्न चाहन्छु।’










