धरहराबाट एक वर्षमा १० करोड बढी राजस्व संकलन

२०८३ आश्विन २५, आईतवार

काठमाडौं : काठमाडौंको सुन्धारास्थित धरहराबाट आर्थिक वर्ष २०८२/८३ मा १० करोड ८५ लाख रुपैयाँ राजस्व संकलन भएको छ।

अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटक राजस्वमा उल्लेखनीय वृद्धि भएको हो। आर्थिक वर्ष २०८१/८२ मा धरहराबाट पाँच करोड १० लाख रुपैयाँ राजस्व संकलन भएको थियो। यसअनुसार गत आर्थिक वर्षमा करिब पाँच करोड ७५ लाख रुपैयाँ बढी आम्दानी भएको देखिन्छ।

धरहरा अवलोकनका लागि दैनिक औसत १ हजार २०० देखि १ हजार ५०० जनासम्म पर्यटक आउने गरेका छन्। चाडपर्व तथा सार्वजनिक बिदाका समयमा भने आगन्तुकको संख्या बढेर २ हजार ५०० देखि २ हजार ८०० सम्म पुग्ने गरेको छ।

पर्यटकको आकर्षण बढ्दै गए पनि धरहराको सञ्चालन र व्यवस्थापनसम्बन्धी नीतिगत स्पष्टताको अभावले आगामी योजना बनाउन कठिनाइ भइरहेको छ। सहरी विकास तथा भवन निर्माण विभागका शाखा अधिकृत एवं धरहराको अन्तरिम सञ्चालन व्यवस्थापन कार्यालयका प्रमुख महेश राईले धरहरालाई ठूलो सम्भावना बोकेको पर्यटकीय गन्तव्यका रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार धरहरालाई योजनाबद्ध र व्यवस्थित रूपमा सञ्चालन गर्न सके आन्तरिक तथा विदेशी पर्यटकको संख्या बढाउनुका साथै सरकारको राजस्व र रोजगारीका अवसरसमेत विस्तार गर्न सकिन्छ।

राईले धरहरालाई अन्य पर्यटकीय क्षेत्रसँग जोडेर यसको आकर्षण र उपयोगिता बढाउन सकिने बताए। यसका लागि प्रभावकारी व्यवस्थापन र आवश्यक पूर्वाधारको विकासमा जोड दिनुपर्ने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार