नारायणगढ : चितवनको भरतपुर महानगरपालिका-१ स्थित पशुपति मन्दिर पछाडि नारायणी नदीमा खुट्टा धुने क्रममा बुधबार डुबेका तीन जनामध्ये बेपत्ता दुई जनाको आज पनि खोजी जारी छ ।
नदीमा डेबेका एक बालिकाको बुधबार नै उद्धार गरिएको थियो भने उनका आमा र भाइ बेपत्ता रहेकामा हिजो र आज दिनभरि खोजी गर्दा पनि अवस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
उहाँका अनुसार बुधबार साँझ नदीमा खुट्टा धुने क्रममा खैरहनी नगरपालिका-१ घर भई हाल भरतपुर महानगरपालिका-१२ मुनालचोकस्थित माइत बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा, उनकी ११ वर्षीया छोरी प्रसिद्धि पौडेल र छ वर्षीय छोरा प्रसिद्ध पौडेल डुबेका थिए ।
घटनाबारे स्थानीयले जानकारी गराएलगत्तै विपद्सहितको उद्धार टोली परिचालन गरिएको थियो । टोलीले प्रसिद्धिलाई उद्धार गरेको प्रहरी उपरीक्षक पौडेलले बताए । सशस्त्र प्रहरीको गोताखोरको टोली र नेपाल प्रहरीले बेपत्ता आमा र छोराको खोजी गरिरहेको उहाँले जानकारी दिए ।











