काठमाडौँ : चलचित्र ‘चिरञ्जीवी भवः’को गीत सार्वजनिक भएको छ । निर्माण पक्षले ‘जाले रुमाल’ बोलको गीत बिहीबार ओएसआर डिजिटल च्यानलमार्फत सार्वजनिक गरेको हो ।
गीतमा शब्द दीपकप्रसाद आचार्यको छ । यसमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर रहेको छ । संगीत बाबुल गिरीले दिएका छन् । लोकलयमा आधारित डान्सिङ नम्बरमा एक युवक र युवतीबीच दोहोरी प्रस्तुत गरिएको छ ।
‘चिरञ्जीवी भवः’मा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । हरिवंश ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन् । चलचित्रमा अभिनेत्री करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी, सुस्मिता कुँवरलगायत कलाकारको पनि अभिनय रहेको छ ।
ब्लकबस्टर निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको चलचित्र ‘चिरञ्जीवी भवः’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र अहिले पोस्ट प्रोडक्सनमा छ ।
यो चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गरेका हुन् । कुमार कट्टेलले तयार पारेको कथाको लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । उमेशकुमार बराल र चिरन केसी निर्माता रहेको चलचित्रमा गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
निर्देशक दीपक आचार्य आफैँले यस चलचित्रको गीतसमेत लेखेका छन्, जसमा हर्क साउदको पनि सहकार्य रहनेछ । रञ्जित गजमेरको पनि चलचित्रमा गीत रहनेछ । चलचित्रमा शिवराम श्रेष्ठको छायाङ्कन र मित्र डी. गुरुङको सम्पादन छ । बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलले संगीत दिएका छन् ।
गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् । रामबाबु खड्का प्रमुख सहायक निर्देशकका रूपमा रहेका छन् भने सहायक निर्देशकमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल छन् ।
यो चलचित्र माघ १ गते (१५ जनवरी)देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ । यसलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ । डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।











