ओडिशाको रेल दुर्घटना जानीजानी षड्यन्त्रपूर्वक गराइएको आशंका, जाँचको जिम्मेवारी सीबीआइलाई

२०८० जेष्ठ २२, सोमबार

काठमाडौं : रेलवे बोर्डले ओडिशाको बालासोरमा भएको रेल दुर्घटनामा सीबीआई जाँचको सिफारिस गरेको छ। रेलमन्त्री अश्विनी वैष्णवले आइतबार भुवनेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो जानकारी दिएका हुन् ।

द हिन्दूमा छापिएको रिपोर्टका अनुसार रेलवे बोर्डले अहिलेसम्म ‘सिग्नलमा गडबडी’लाई दुर्घटनाको मुख्य कारण मानेको छ । यो रेल दुर्घटनामा २७५ जनाको मृत्यु भएको छ भने एक हजारभन्दा बढी घाइते भएका छन् । रेलवे बोर्डले ‘षड्यन्त्र’ लाई पनि अस्वीकार नगरिएको बताएको छ।

आइतबार साँझ भुवनेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै वैष्णवले भने, “अहिलेसम्म प्राप्त परिस्थिति र प्रशासनिक जानकारीलाई ध्यानमा राख्दै, रेलवे बोर्डले दुर्घटनाको बारेमा सीबीआई जाँचको सिफारिस गर्दछ।”

रेल मन्त्रीले रेलवे सुरक्षा आयुक्तले अनुसन्धान पूरा गरी दुर्घटनाको मूल कारण ट्र्याकको यस भागमा रहेको इलेक्ट्रोनिक इन्टरलकिङ र अपरेसनल सिग्नल प्रणालीमा समस्या रहेको पत्ता लगाएको पनि जानकारी दिए ।

यसका लागि जिम्मेवार व्यक्तिको पहिचान भइसकेको पनि रेलमन्त्रीले बताए । यसैबीच, रेलवे बोर्ड सदस्य जय वर्मा सिन्हाले पनि षड्यन्त्रको सम्भावनालाई अस्वीकार नगरेको बताएका छन् ।

सिन्हाले भने, ‘दुर्घटनापछि सबैभन्दा पहिले कोरोमण्डल एक्सप्रेसका लोको पाइलटसँग कुरा भएको थियो। उनले मुख्य लाइनका लागि ग्रिन सिग्नल पाएको र तीव्र गतिमा रेल यहाँबाट गुज्रिएको बताए । पाइलट अहिले अस्पतालमा छन् र उनको अवस्था गम्भीर छ।”

मानवीय हस्तक्षेपबिना यो सिग्नल प्रणालीमा गडबडी हुन नसक्ने कुरामा उनले जोड दिए । गृहमन्त्रालयका अधिकारीको टोलीले पनि घटनास्थल पुगेर रेलवे अधिकारीसँग छलफल गरेको छ ।

रेलवेमा सिग्नल व्यवस्थाका प्रमुख कार्यकारी निर्देशक सन्दीप माथुरले द हिन्दूलाई भने, “जहाँसम्म हामीलाई त्यो रातको डिजिटल रेकर्डबाट थाहा छ, पठाइएका सिग्नलहरू एकदम सही र अपेक्षा गरेजस्तै थिए। तर पनि दुर्घटना भयो र अब कहाँ असफलता भयो पत्ता लगाउनु पर्छ।”

यसैबीच रेलवेका एक वरिष्ठ अधिकारीले इन्टरलकिङमा ठूलो समस्या भएको बताउँछन् । यसका दुईवटा कारण हुन सक्छन्, या त यसमा छेडछाड भएको छ वा सफ्टवेयर वा हार्डवेयरमा त्रुटि छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार