विद्यार्थी मृत फेला परेपछि ६ दिनदेखि सोह्रखुट्टेको इलिप्स स्कुल बन्द

२०८० जेष्ठ २२, सोमबार

काठमाडौं : काठमाडौंको सोह्रखुट्टेस्थित विद्यालयको छात्रवासमा १२ वर्षीय बालक मृत फेला परेपछि मृतकका आफन्तले विद्यालय बन्द गरेका छन्। इटरनल लाइट पब्लिक स्कुल (इलिप्स)को छात्रवासमा बस्ने धादिङ नेत्रावती डबजोङ गाउँपालिका-५ का अभिषेक तामाङ गत बिहीबार मृत फेला परेका थिए। कक्षा ५मा अध्ययनरत तामाङ झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

तर मृतकका आफन्तले यो घटना आत्महत्या नभई हत्या भएको दाबी गर्दै विद्यालय बन्द गराएका हुन्। त्यसदिन यता विद्यालय खुलेको छैन। आफन्तले विद्यालयसँगै प्रहरी वृत्त सोह्रखुट्टे समेत घेराउ गरेका छन्। आफन्त पूर्णिमा तामाङले बालकको शरीरमा निलडाम कसरी देखियो भन्दै प्रश्न समेत गरेकी छन्।

‘आत्महत्या भएको भए हातगोडामा निलो डाम कसरी भयो?,ʼ उनले भनिन्, ‘एउटा कानमा माटोको धुलोसँगै रगत बगिरहेको थियो।ʼ पूर्णिमा विद्यालय नजिकै बस्छिन्। बिहीबार घटनाबारे खबर पाउन बित्तिकै उनी छात्रवास पुगेकी थिइन्। त्यतिञ्जेल प्रहरी र शिक्षकहरू जम्मा भइसकेका थिए।

अन्य आफन्तहरूले पनि अभिषेकको हत्या नै भएको दाबी गर्छन्। अभिषेककी सानी आमा निष्मा प्रत्येक हप्ताजसो उनलाई भेट्न जान्थिन्। विद्यालयले छोटो समयमा भेट्न नआउनु भनेपछि उनले कम गरेकी थिइन्। मासिक शुल्क तिर्न पनि पूर्णिमा र निष्मा पालैपालो जान्थे। मासिक शुल्क बुझाउने शिलशिलामै घटना हुनु तीन दिनअघि मात्रै निष्माले अभिषेकसँग भेटेकी थिइन्।

‘भेट्दा करातेमा राम्रो गरेको खुसीको खबर सुनाएको थियो। तीन दिनपछि त्यस्तो खबर आयो,ʼ उनले भनिन्, ‘हामीले न्याय पाउनुपर्छ।ʼ अभिषेक इलिप्स स्कुलको छात्रवास बस्न थालेको डेढ वर्ष भयो। उनकी आमा सन्दिरा तामाङ साइप्रसमा बस्ने भएकाले अभिषेकलाई छात्रवासमा राखिएको थियो।

आफू यहाँ नभएपनि नजिकै आफन्तहरू बस्ने हुँदा हेरचाह हुने हिसाबले छात्रवासमा राखिएको उनी बताउँछिन्। आफ्नो छोरा बितेको खबर पाएपछि भने उनी नेपाल फर्किएकी छन्। उनलाई छोरा बिरामी छ भनेर बोलाइएको थियो। तर यहाँ शव हेर्दा शरीरमा निलडाम देखेपछि न्यायको माग गरिरहेकी हुन्।

‘छोरालाई के भयो होला भनेर आँत्तिदै आएकी थिएँ, तर यहाँ आइपुग्दा छोरा नै जीवित रहेनछ,ʼ उनले भनिन्, ‘शव हेर्दा शरीरभरी निलडाम छ। आत्महत्या होइन। त्यो दिन विद्यालयमा केही त पक्कै भएको थियो।ʼ उनले आइतबार विद्यालयको सिसिटिभी फुटेज पनि हेरेकी थिइन्। जसमा छोरा टाउको निहुराएर हिँडिरहेको देखिन्।

आफूले न्याय नपाएसम्म विद्यालय नै खोल्न नदिने उनले अडान लिएकी छन्। त्यसपछि उनीहरूले धर्ना दिइरहेका हुन्। उनीहरूले विद्यालयकै गेटमा अभिषेकको तस्बिर टाँसेर ‘जस्टिस फर अभिषेक’ लेखेर न्याय माग गरेका छन्। घटनाको दिन पहिलो दिन आफन्तहरूले विद्यालयमा तोडफोड गरेका थिए। विद्यालयमा थप क्षति नपुगेस् भनेर जिल्ला प्रहरी परिसर काठमाडौंले प्रहरी खटाएको प्रवक्ता एवं एसपी सिताराम रिजालले बताए।

प्रहरीले विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र छात्रवास वार्डेनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताए। आफन्तले उनीहरूविरूद्ध आइतबार प्रहरी वृत्त सोह्रखुट्टेमा आत्महत्या दुरूत्सान कसुरमा जाहेरी दिएका थिए। अभिषेकसँगै कोठामा बस्ने विद्यार्थीहरूसँग र शिक्षकहरूसँग सोधपुछ गरिरहेको पनि एसपी रिजालले बताए।

प्रहरीले शवको पोष्टमर्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको थियो। त्यहाँबाट पनि अभिषेकको मृत्यु आत्महत्याबाटै भएको भन्ने जानकारी मृतक आफन्तले पाइसकेका छन्। तर पनि उनीहरू आफ्नो अडानबाट पछि हटेका छैनन्। उक्त विद्यालयमा करिब ७ सय विद्यार्थीहरू छन्। सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार