माछा र केरा आयातमा प्रतिबन्ध लगाउन रविले मागे ओलीको साथ

२०८० असार १५, शुक्रबार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले केरा र माछा आयातमा रोक लगाउनु पर्ने बताएका छन् ।

आन्तरिक उत्पादनको बजार उपभोग सुनिश्चित गर्नका लागि यी दुई वस्तु आयातमा रोक लगाउनु पर्ने भन्दै उनले पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आग्रह गरेका हुन् ।

शुक्रबार बिहान एउटै जहाजमा काठमाडौंबाट चितवनको भरतपुर पुगेका दुवै नेताहरु भरतपुर विमानस्थलमा भेटिएका थिए ।

विमानबाट ओर्लिएर गाडी चढ्न लागेका एमाले अध्यक्ष ओलीसँग भएको छोटो सम्वादमा रास्वपा अध्यक्ष लामिछानेले केरा र माछाको आयात रोक्नका लागि ओलीको साथ खोजेका हुन् ।

‘स्वदेशी कृषकको उत्पादन रक्षाका लागि माछा र केरामा आयात प्रतिबन्ध लगाउन आवश्यक भइसकेको छ,’ लामिछानेले ओलीलाई भने । जवाफमा ओलीले हुन्छ भन्ने जवाफ फर्काए । सँगै रहेकी ओली पत्नी राधिकाले रविको कुरामा सही थाप्दै अण्डा आयातमा पनि रोक लगाउनु पर्ने प्रस्ताव गरिन । जवाफमा रविले भने, ‘पहिले माछा र केरामा प्रतिबन्ध लगाउँ बिस्तारै अन्य वस्तुमा पनि लगाउँदै जाने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार