सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुनुस् : माधव नेपाल 

२०८० भाद्र १४, बिहीबार

सुर्खेत : सत्तारुढ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल नेतृत्वको सरकार कहिले ढल्ला भन्ने चिन्ताबाट मुक्त हुन आग्रह गरेका छन् । 

समाजवादी मोर्चाले बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको सन्देशसभालाई सम्बोधन गर्दै नेपालले कुनै पनि शक्तिले ढाल्न नसक्ने बताए ।

समाजवादी मोर्चाका संयोजकसमेत रहेका नेपालले सरकारले सही काम गरिरहेको पनि बताए । ‘यो सरकारलाई देशी, विदेशी कुनै शक्तिले हल्लाउन सक्दैन । यो सरकार कहिले ढल्ने हो भन्ने चिन्ता छ भने त्यसबाट मुक्त हुनुस्,’ उनले भने, ‘कसैलाई ढलोस् भन्ने लागेको छ भने असिन-पसिन हुन दिनुस् । हामीले यो सरकार राम्रो उद्देश्यका निम्ति बनाएका छौं ।’

नेपालले सरकारमा रहेका कम्युनिस्ट धारका दलहरूको मोर्चा हुँदा सत्तारुढ कांग्रेस रुष्ट हुन्छ कि भन्नेहरू पनि रहेको तर त्यो सही नभएको बताए । ‘कसै-कसैलाई एकता पचेको छैन । एकताभन्दा सबैले राम्रो मान्नुपर्ने हो । एकातिर मोर्चा छ, अर्कोतिर गठबन्धन भन्ने छन् । गठबन्धनका कम्युनिस्ट मिलेर मोर्चा बनाएकाले कांग्रेसको मनमा चिसो पस्यो कि भन्नेहरू पनि छन्, त्यस्तो केही छैन,’ उनले भने ।

सत्तारुढ गठबन्धनमा रहेका सबै एक ठाउँमा रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्री दाहालले भ्रष्टाचारविरुद्ध चालेको कदममा सत्तारुढ दलहरूको ऐक्यबद्धता रहेको नेपालको भनाइ थियो । प्रधानमन्त्रीले आफ्नो पार्टीका हुन् वा अरु पार्टीका जोसुकै पनि भ्रष्टाचारमा संलग्न भए पनि कारबाही चलिरहेको उनले बताए । ‘आफ्नो पार्टीका हुन् वा अरु जुनसुकैले भ्रष्टाचार गरेका छन्, कसैले छुट पाउँदैन,’ उनले भने, ‘सरकारले उहिलेदेखिका भ्रष्टाचारका फाइल खोल्ने गरिरहेको छ । दोषी कोही नउम्किउन्, निर्दोष कोही नपरुन् भन्ने छ ।’

सरकारले काम गरिरहेको र अझै गर्न बाँकी रहेको पनि नेपालको भनाइ थियो । सरकारका काममा सुधार गर्नुपर्ने ठाउँ भने रहेको नेपालले बताए । नेपालमा वैदेशिक हस्तक्षेप स्वीकार्य नरहेको नेपालले बताए । उनले एमसीसी सैनिक विषयसँग नजोडिएको पनि बताए ।

एमसीसी आर्थिक सहयोगमात्रै भएको र यसलाई अन्य विषयसँग जोडिन नहुने बताए । ‘एमसीसी कुनै सैनिक विषयसँग जोडिनु हुँदैन । यो विशुद्ध आर्थिक सहयोग लिएका छौं । आर्थिक सहयोग स्वीकार गर्नुपर्छ । विदेशी पुँजी दिन्छ भने स्वागत गर्नुपर्छ,’ उनले भने ।

विदेशी सहयोग नेपाललाई आवश्यक परेको तर सहयोगका नाममा अनुचित सर्त स्वीकार्य नहुने नेपालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार