सदियौंदेखि कायम एकता भाँड्नेदेखि सचेत रहनुपर्छ : अध्यक्ष ओली

२०८० भाद्र २३, शनिबार

भक्तपुर : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै जातजाति एकै ठाउँमा बसेर सामूहिक रूपमा चाडपर्व मनाएको देख्न नसक्ने तत्वदेखि राष्ट्रिय एकता खतरामा परेको बताएका छन्। 

शनिबार अखिल नेपाल महिला संघ मध्यपुरथिमि नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान तथा हरितालिका तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले जातजाति, भाषाभाषी, धर्म, संस्कृति, पर्व, चाडपर्वका नाममा सदियौंदेखि कायम रहँदै आएको एकतालाई भाँड्ने तत्व सक्रिय रहेको बताएका हुन्।

‘यस्ता चाडपर्व मन नपराउने, एकता मन नपराउने, धर्म, संस्कृति, परम्परा मन नपराउने, खोला वारिका, खोला पारिका, एक समाज र अर्को समाजबीचको एकता, सद्भाव देखेर मन भतभती पोल्ने सलबलाएका छन्,’ उनले भने, ‘यसरी सबै जातजातिका मानिस मिलेर एकै ठाउँमा बसेर किन रमाएका होलान् भनेर पीर गर्नेहरू र साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेसँग सचेत हुनुपर्छ।’

सबै जातजाति एकै ठाउँ बसेको मन नपराउने, झगडा गराएर मारामार गर्न गराउन खोज्ने एकता विरोधीसँग सचेत हुँदै यस्ता साझा चाडपर्व उत्सवका रूपमा मनाउनुपर्ने उनले बताए। उनले हामी आफैं आफ्नै खुट्टामा उभिन सक्ने बनाउनुपर्ने उल्लेख गर्दै देशलाई परनिर्भरताबाट आत्मनिर्भरतातर्फ लैजानुपर्नेमा जोड दिए।

‘हामीले आफैंले आफ्नो खुसी ल्याउनुपर्छ, अरूसँग खुसी सापटी खोजेर पाइँदैन, खेत बाँझो छ भनेर चुप लागेर बस्ने होइन, खोलामा बगेको पानी कुलो लाएर आफै‌ंले ल्याउनुपर्छ, हाम्रो खुसी अरूले ल्याउँदैन, हामी सबैले चाह्यौं भने हाम्रो खुसी आफैं ल्याउन सक्छौं,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार