सहिदको सपना पूरा गर्ने जिम्मेवारी मेरो काँधमा छ : प्रधानमन्त्री दाहाल

२०८० भाद्र २३, शनिबार

गोरखा : प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) हजारौँ सहिदको सपना पूरा गर्ने जिम्मेवारी आफ्नो काँधमा रहेको बताएका छन् ।

जनयुद्धका क्रममा राज्यपक्षबाट हत्या गरिएका सहिद सुरेश वाग्ले (बासु) र भीमसेन पोखरेल (बैरागी) को २४ औँ स्मृतिसभालाई सम्बोधन गर्न आज गोरखा आइपुगेका प्रधानमन्त्री दाहालले गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आयोजित सभालाई सम्बोधन गर्दै सहिदका सपना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले माओवादीले उठाएका मुद्दा र जनताको चाहना पूरा हुन अझै पनि बाँकी रहेको बताए । ‘जनयुद्धका क्रममा उठाएका सबै मुद्दा पूरा भइसकेका छैनन्’, उनले भने, ‘शान्तिपूर्ण ढङ्गबाट बाँकी रहेका मुद्दालाई स्थापित गर्दै जाने दृढ सङ्कल्पका साथ लागिरहेका छाँै ।’

प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री बनेपछि जनयुद्ध र जनयुद्धका सहिद तथा बेपत्ता योद्धालाई सम्मान गर्ने वातावरण बनाएको बताए । ‘यसपटक सरकारको नेतृत्वमा पुगेपछि मैले नै जनयुद्ध र जनआन्दोलनका सम्पूर्ण सहिदलाई राष्ट्रिय सहिदको घोषणा गरिसकेको छु’, उनले भने, ‘राजपत्रमा प्रकाशित गरी सहिद घोषणा र जनयुद्ध दिवसलाई राष्ट्रिय दिवस घोषणाले जनयुद्धलाई सम्मान गर्ने वातावरण बनेको छ ।’

प्रधानमन्त्री दाहालले शान्ति सम्झौताको केही काम पूरा हुन अझै बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पु¥याउनेतर्फ सरकार लागि रहेको बताए । उनले सत्यनिरुपण तथा बेपत्तासम्बन्धी विधयेक पारित भएपछि देशभर सहिद तथा बेपत्ता परिवारको सम्मान हुने समेत उल्लेख गरे ।

विसं २०५६ भदौ २३ गतेका दिन बिरामी अवस्था रहेका नेता वाग्लेलाई पार्टी कामका सिलसिलामा रहेका बेला साविकको गोरखाको गाँखु गाविसमा प्रहरीले नियन्त्रणमा लिएर हत्या गरिएको थियो । विसं २०४७ देखि शिक्षण पेसा छोडेर कम्युनिष्ट राजनीतिमा होमिका नेता वाग्ले माआवादीले जनयुद्धको थालनी गरेसँगै भूमिगत भएका थिए ।

१७ वर्ष शिक्षण सेवामा बिताएका नेता वाग्ले पार्टीभित्र वैचारिक, साङ्गठनिक र दृढ सङ्कल्प भएको नेताका रुपमा चिनिन्थे । गोरखाको आपँपिपल गाविसको रातडाँडा भन्ने ठाउँमा विसं २०१० भदौ २४ गते जन्मिएका नेता वाग्ले सानैदेखि विद्रोही स्वभावको थिए । उनी जनयुद्धका क्रममा मारिने पार्टीको सबैभन्दा उच्च तहको नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार