गठबन्धन तोड्नु भनेको सरकार फाल्नु हो : माधव नेपाल

२०८० पुष ५, बिहीबार

नारायणगढ : एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आसन्न राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धन कायमै रहने बताएका छन् ।

भरतपुर विमानस्थलमा बुधबार पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष नेपालले सत्तासीन दल बिचको गठबन्धनको विकल्प नभएको बताए।  “गठबन्धन हुन्छ।  अरू गठबन्धन बन्ने सम्भावना नै छैन”, उनले थपे,  “गठबन्धन फेर्नुको मतलब सरकार फेर्नु हो। ” उनले राष्ट्रिय सभामा आफूहरूले पाउने सिटका आधारमा उम्मेदवार चयन गर्ने जानकारी दिए।

“उम्मेदवारको पनि हामी मापदण्ड बनाउँछौँ।  तर त्यो भन्दा अघि कति सिट कुन-कुन प्रदेश र कुन-कुन क्लष्टरबाट हामीले पाउने हो भन्ने त गठबन्धन दलमा टुङ्गो लाग्नुपर्‍यो नि ?”, उनले भने। सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरेका कार्य प्रशंसनीय भएको उल्लेख गर्दै उनले यसमा अझै कडाइका साथ लाग्नुपर्ने आवश्यकता औँल्याए।

“सरकारले भ्रष्टाचारका केशमा चासो राखेको छ।  कडाइ गरेको छ।  दण्डित गर्ने कार्य पनि थालेको छ  भनेर सरकारको प्रशंसा पनि भएको छ”, उनले थपे, “सरकारले राम्रो काम गर्नुपर्छ।  हिक्मतका साथ अगाडि बढ्नुपर्छ। ” समाजवादी मोर्चाका संयोजक समेत रहनुभएका अध्यक्ष नेपालले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतका नेतामाथि जारी भएको पक्राउ वारेन्ट खारेज हुनुपर्ने माग गरेका छन् ।

“हामी गठबन्धनमा छौँ।  मोर्चामा पनि छौँ।  कानुनी प्रबन्धलाई पनि हेर्नुपर्ने हुन्छ।  तर यस्तो बेलामा उहाँहरू माथि जसरी गिरफ्तार गर्ने वारेण्ट जारी भएको छ।  यो अनुचित हो”, उनको स्पष्ट भनाइ थियो,  “वास्तवमा द्वन्द्वहरू व्यवस्थापन गर्दै जाने हो।  गर्दै पनि आएका छौँ। ” केही दिन अघि विप्लव सहितका नेतालाई पक्राउ पुर्जी ललितपुर जिल्ला अदालतले जारी गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार