
काठमाडौं : ‘जेब्रक्रसिङ’ तथा आकाशे पुल प्रयोग नगरी सडक पार गर्ने पैदलयात्रीका लागि ट्राफिक प्रहरीले सडकमै सचेतना कक्षा सञ्चालन गरेको छ। पहिलो दिनमै ट्राफिक प्रहरीले ६ सय ३७ पैदलयात्रीलाई सचेतना कक्षामा सहभागि गराई सकेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्रात्रस तथा आकाशेपुल बिना नै सडक पार गर्ने यात्रु र साईकल चालकलाई ट्राफिक नियम सम्बन्धी जनचेतना दिने उद्येश्यले पैदलयात्री सचेतता अभियानको सुरुवात गरिएको हो। जथाभावी सडक पार गर्दा दुर्घटनाको जोखिम उच्च हुने भएको हुँदा पनि यो अभियानलाई प्राथमिकतामा राखिएका कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।
उनले भने,‘अभियानका क्रममा सोमबार ६ सय ३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाई–बुझाई गरिएको छ । अभियान न्युरोड, बालकुमारी, जडिबुटी, सातदोबाटो, जावलाखेल, सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलमा चलाइएको थियो । जथाभावी सडक पार गर्ने पैदलयात्रीलाई आकाशेपुल तथा जेब्राक्रस प्रयोग गर्न लगाइएको छ ।’
यस्तै, ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साईकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १ सय ९३ साईकलका चालकलाई पनि सम्झाई–बुझाई गरेको छ। काठमाडौँको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाई बुझाई गरिएको हो ।
अभियानको सन्दर्भिकता बारे एसएसपी भट्टले भने,‘उपत्यकामा गत आवमा मात्रै सवारी दुर्घटनामा ५८ जना र चालु आवको फागुन मसान्तसम्म ४० पैदलयात्रीको मृत्यु भएको छ । यस तथ्यांकले पैदलयात्रु सबैभन्दा बढी जोखिममा रहेको देखाउँछ । त्यसो हुदा यो अभियान सञ्चालन गरिएको हो । यसले पैदलयात्रीमा ट्राफिक सचेतता अभिवृद्धि भई ट्राफिक व्यवस्थापन र सहजीकरणमा सहजता ल्याउनेछ।’ यस अघि ट्राफिक प्रहरीले २०७४ को वैशाख र २०७६ को पुसमा यस्तै अभियान सञ्चालनमा ल्याएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।