बालिका चोरीको आरोपमा दैलेखकी मनीषा सिंहसहित ३ जना पक्राउ

२०८० फाल्गुन १२, शनिबार

काठमाडौँ : थापाथलीस्थित प्रसूति गृहबाट बालिका चोरीको कसुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दैलेख घर भई काठमाडौँको काँडाघारीमा डेरा गरी बस्ने २४ वर्षीय मनीषा सिंहसहित अन्य दुई जना पक्राउ परेका हुन् ।

शुक्राबार राति ११:४५ बजे काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काँडाघारीबाट बालिकालाई उद्धार गरी उनीहरूलाई पक्राउ गरेको हो । विवाह गरेको लामो समयसम्म पनि सन्तान नभएपछि मनीषाले बालिकाको चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रसूति गृहबाट बालिकाको चोरी घरेपछि आधा बाटोमा उनकी दिदीसमेत बालिका लिन पुगेकी थिइन् । बालिका लिएर गएपछि छिमेकी तथा आफन्तलाई सुत्केरी भएको जानकारीसमेत गराएको पाइएको छ ।

पक्राउ पर्नेमा महिलाकी दिदी र श्रीमानसमेत छन् । मनीषाका श्रीमान् नेपाली सेनामा कार्यरत छन् । बालिकाको उद्धारपछि अस्पतालमा प्रारम्भिक उपचार गरी बालिकाको परिवारको जिम्मा लगाइएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । ‘सहयोग’को बहाना बनाएर अपरिचित महिलाले बच्चा चोरेर भागेको सविनाले प्रहरीलाई बताएकी छन् । अस्पतालमा अपरिचित महिलाले ‘एकछिन म लिइदिन्छु’ भनेर बालिका लिएर फरार भएपछि पीडितले अस्थायी प्रहरी बिट थापाथलीमा खबर गरेपछि प्रहरीले खोजी थालेको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार