नयाँ गठबन्धनप्रति विश्वास र शंका दुवै छ : माधव नेपाल

२०८० चैत्र ३, शनिबार

काठमाडौँ : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नयाँ गठबन्धनप्रति विश्वास र शंका दुवै रहेको बताएका छन् ।

उनले नयाँ समीकरण र सरकार आफ्नो दलसहित पाँच दलको सहमति भइसकेकाले शंकाको लाभ दिने पक्षमा पार्टी उभिने बताए । ‘हामीले ब्लाइन्ड सपोर्ट गर्ने पनि होइन, ब्लाइन्ड विरोध गर्ने पनि होइन, बेनिफिट अफ डाउट दिएर अघि बढ्नुपर्छ,’ पार्टीनिकट महिलाहरूको भेला तथा प्रशिक्षणलाई शुक्रबार सम्बोधन गर्दै नेपालले भने, ‘नयाँ समीकरण स्वीकार्य छ । तर, जालझेल र षड्यन्त्र भने स्वीकार्य हुँदैन ।’

नयाँ सत्तासमीकरणसँगै समय फेरिएकाले बोली र व्यवहारमा रूपान्तरण ल्याउन उनले कार्यकर्ताहरूको ध्यानाकर्षण गराए । नेपालले नयाँ सत्तासमीकरणमा नेकपा एसको पनि स्थान र भूमिकाबारे छलफल चल्दै जाने प्रस्ट्याए । ‘सबै ठाउँमा कसरी अगाडि बढ्ने छलफल चल्छ । सरकार चलाउने न्यूनतम कार्यक्रम मस्यौदा गरिरहेका छौँ । विभिन्न प्रदेशमा मुख्यमन्त्री, मन्त्री परिवर्तन गर्ने छलफल चल्दै जानेछ,’ नेपालले भने, ‘त्यसैगरी विभिन्न राजनीतिक नियुक्तिका कुरा हुनेछ । नियुक्ति, संवैधानिक नियुक्तिमा हाम्रो भूमिकाबारे पनि छलफल हुनेछ । अरू सन्दर्भमा पनि बिस्तारै छलफल हुनेछ ।’

अध्यक्ष केपी ओलीसँगको पछिल्लो संवाद र छलफललाई इंगित गर्दै नेपालले मिल्नुको मतलब दुई पार्टी मिल्ने अर्थमा नबुझ्न कार्यकर्तालाई आग्रह गरे । नेपालले एमालेमा जाने नेता–कार्यकर्ताको बिजोग भएको सुनाए । ‘मिल्नुको मतलब दुई पार्टी मिल्ने होइन, जानेहरू (एमालेमा) अहिले बेहाल भइरहेका छन् । हामी सिंगै देशको कम्युनिस्टहरूलाई मिलाउने हो भने तयार छौँ । सबै कम्युनिस्टहरूलाई गोलबन्द गर्ने हो भने तयार छौँ । हामीलाई देश बनाउनुछ,’ नेपालले भने, ‘हामीलाई कुनै पद ओगटेर बस्नु छैन । प्रधानमन्त्री, पार्टी अध्यक्ष पनि चाहिएको होइन, देशको प्रगति र परिवर्तन चाहिएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार