‘असंवैधानिक प्रक्रिया’बाट मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुखलाई कांग्रेसको अनुरोध

२०८० चैत्र २५, आईतवार

कास्की : कांग्रेसले गण्डकीमा एमालेका खगराज अधिकारीलाई असंवैधानिक प्रक्रियाबाट मुख्यमन्त्री नियुक्त नगर्न प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अनुरोध गरेको छ । कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरिएको भन्दै प्रदेश प्रमुख भट्टको ध्यानाकर्षण गराएका हुन् ।

‘बहालवाला माननीय सभामुख कृष्णप्रसाद धितालसहित बहुमत सदस्यहरूको हस्ताक्षरसहित मुख्यमन्त्रीमा प्रदेशसभा सदस्य माननीय खगराज अधिकारीले दाबी गरेको भन्न सूचना सुन्न आएको छ । यसप्रति हाम्रो असहमति छ,’ पूर्वमुख्यमन्त्रीसमेत रहेका पाण्डेले भने ।

संविधानले सभामुख पदलाई स्वतन्त्र, तटस्थ र निष्पक्ष पद मानी आएको बताउँदै पाण्डेले दलको सदस्यता त्यागिसकेको व्यक्तिको समर्थन मान्य नहुने बताएका छन् । एमाले संसदीय दलका नेता खगराज अधिकारीले सभामुख र स्वतन्त्र सांसदको सर्मथनमा आज बिहान मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ६० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ३१ सांसदको आवश्यकता पर्दछ ।

अधिकारीले एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसदसहित ३१ जनाको हस्ताक्षर बुझाएका हुन्। गण्डकी प्रदेशसभामा २७ सांसदसहित कांग्रेस ठूलो दल छ । त्यस्तै राप्रपाका २ सांसद छन् । गण्डकीमा सरकार गठनका लागि राप्रपा निर्णायक शक्तिका रूपमा रहेको छ ।

कांग्रेसले यसअघि कोशी प्रदेशको नजिरसमेत स्मरण गराउँदै प्रदेश प्रमुख भट्टलाई सरकारमा एमाले-माओवादीको दाबी असंवैधानिक भएको बताएको छ । यसअघि कोशी प्रदेशमा सभामुखसहितको हस्ताक्षरमा सरकार बनाउँदा त्यसलाई सर्वोच्च अदालतले असंवैधानिक करार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार