वैशाख महिनाका लागि बैङ्कहरूले घटाए ब्याजदर

२०८१ बैशाख १, शनिबार

काठमाडौँ : पछिल्लो समय लगातार ब्याजदर घटाइरहेका वाणिज्य बैङ्कहरूले वैशाख महिनाका लागि पनि ब्याजदर घटाएका छन् ।

सञ्चालनमा रहेका अधिकांश वाणिज्य बैङ्कले २०८१ साल वैशाख महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । औसतमा व्यक्तिगततर्फ मुद्दती निक्षेपको ब्याजदर वैशाख महिनाका लागि ७.०६ प्रतिशत भएको छ । चैतमा औसत ब्याजदर ७.२५ प्रतिशत रहेको थियो । औसतमा हेर्दा बैङ्कहरूको ब्याजदर ०.१८ बिन्दुले घटेको छ ।

पाँच बैङ्कले चैतकै ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिएका छन् भने दुई बैङ्कले ब्याजदर बढाएका छन् । ब्याजदर बढाउनेमा एभरेस्ट र एनएमबि बैङ्क रहेका छन् । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिनेमा एनएमबि बैङ्क रहेको छ भने सबैभन्दा कम ब्याजदर कृषि विकास बैङ्कको रहेको छ । मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याज दिने एनएमबि बैङ्कले शुक्रबार ब्याजदर प्रकाशित गर्दै वैशाख महिनाका लागि बैङ्कले ७.९७ प्रतिशत ब्याज तोकेको छ । सो बैङ्कले चैत महिनामा सात प्रतिशत ब्याज तोकेको थियो । वैशाखका लागि भने बैङ्कले ०.९७ प्रतिशतले ब्याज बढाएको हो ।

नेपाल एसबीआई बैङ्कले ७.०१ बाट ६.५३ प्रतिशत, कुमारी बैङ्कले ७.५१ बाट ७.२६ प्रतिशत कायम गरेको छ भने कृषि विकास बैङ्कले वैशाख महिनाका लागि मुद्दती निक्षेपमा चैतकै ५.६६ प्रतिशतलाई निरन्तरता दिएको छ । प्रभु बैङ्कले ७.५ बाट सात, सानिमा बैङ्कले ७.२५ बाट ७.१, लक्ष्मी सनराइज बैङ्कले ७.५ बाट सात प्रतिशत कायम गरेको छ । एनआइसी एसियाले बैङ्कले ८.५४ प्रतिशतबाट घटाएर ७.७५ प्रतिशत कायम गरेको छ भने प्राइम कमर्सियल बैङ्कले ७.२५ प्रतिशतबाट घटाएर ७.१ मा झारेको छ । माछापुच्छ«े बैङ्कले ७.७५ बाट ७.२५ कायम गरेको छ । यस्तै सिद्धार्थ बैङ्कले ७.५ बाट वैशाखका लागि ७.२५ प्रतिशत तोकेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले चैत महिनाकै सात प्रतिशतलाई निरन्तरता दिएको छ ।

नेपाल बैङ्कले व्यक्तिगत मुद्दती खातामा दुई वर्षसम्मका लागि ५.७५ र दुई वर्षभन्दामाथिका लागि ६.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कले सातबाट ६.५५, नबिल बैङ्कले चैत महिनाकै ७.२५ लाई निरन्तरता दिएको छ । नेपाल इन्भेस्टमेन्ट बैङ्कले पनि चैत महिनाकै सात प्रतिशतलाई नै निरन्तरता दिएको छ भने  सिटिजन्स् बैङ्कले ७.७५ बाट ७.५, हिमालयन बैङ्कले चैत महिनाकै ७.५  प्रतिशतलाई निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार