१४ औं राष्ट्रपति रनिङ सिल्ड आजदेखि

२०८१ बैशाख ३, सोमबार

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद आज मंगलबार सुरु हुँदै छ । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले दशरथ रंगशालामा हुने कार्यक्रममा उद्घाटन गर्नेछन् । उद्घाटन कार्यक्रममा मार्चपास, अक्सिडेन्टल पब्लिक स्कुलका विद्यार्थीको नृत्य, उसु खेलाडीको प्रस्तुति, डान्स स्पोर्ट्स संघको प्रस्तुति, नाइटिङ्गेल स्कुलका विद्यार्थीको सातै प्रदेशको संस्कृति झल्कने नृत्य प्रस्तुति रहनेछ । तृष्णा गुरुङ एन्ड डी कोल्याबको टोलीले गीत प्रस्तुत गर्नेछन् ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा हुने प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीको सहभागिता रहने छ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।

५६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । एथलेटिक्सको छात्र/छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र/छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र/छात्रमा समान १/१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा समावेश ६ खेलको अनुगमन गर्ने जिम्मेवारी राखेप बोर्ड सदस्यलाई प्रदान गरिएको छ । भलिबलमा नन्दा बस्याल, एथलेटिक्समा विना श्रेष्ठ, कबड्डीमा पेमा डोल्मा लामा, करातेमा अञ्जना श्रेष्ठ, तेक्वान्दोमा अञ्जन धमला र उसुमा प्रकाशकुमार कुसारीलाई कार्य विवरणसहित अनुगमन गर्ने जिम्मेवारी दिइएको राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राष्ट्रपति रनिङ सिल्ड खेलकुदलाई सबै मिलेर सफल बनाउनुपर्नेमा जोड दिएका छन् ।

‘राष्ट्रपति रनिङ सिल्ड जुनियर खेलाडीको सबैभन्दा ठूलो प्रतियोगिता हो । यसलाई भव्य र सफल बनाउनु हामी सबैको कर्तव्य हो । सबै मिलेर प्रतियोगितालाई सफल बनाउन सम्बन्धित सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नु जरुरी छ,’ सदस्यसचिवले विज्ञप्तिमा भनेका छन् ।

प्रतियोगिताको कुल नगद पुरस्कार राशि ११ लाख ५२ हजार रुपैयाँ छ । प्रत्येक खेलको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा शीर्ष तीन स्थान हात पार्ने टिमलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि १५ हजार पुरस्कारबाट पुरस्कृत गरिने छ । प्रतियोगिता बिहीबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार