हङकङलाई ८ विकेटले पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश

२०८१ बैशाख ३, सोमबार

काठमाडौं : एसीसी प्रिमियर कप अन्तर्गत सोमबारको खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ। जितसँगै नेपाल विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको छ। हङकङले दिएको ११५ रनको लक्ष्य नेपालले १२.२ ओभरमा पूरा गरेको हो। नेपालका लागि ओपनर ब्याट्सम्यान आशिफ शेखले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ४० रन बनाए। यस्तै कुशल भुर्तेलले १९ बल खेल्दै ३२ रनको योगदान दिए। कुशलले ३ चौका र २ छक्का हाने।

नेपालका कप्तान रोहित पौडेलले अविजित २५ रन बनाउँदा सन्दीप जोराले १९ रनको योगदान दिए। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित १७.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो। नेपालका लागि अविनाश बोहराले ४ ओभर बलिङ गर्दै २९ रन खर्चेर ३ विकेट लिए। उनले हङकङका याशिम मुर्तजा, जिशन अली र नशरुल्लाह रानालाई आउट गरे।

यस्तै स्पिनर ललित राजवंशीले २ विकेट लिए। उनले बाबर ह्यात र अजिज खानलाई पेभेलियन फर्काए। नेपालका दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए। उनले खेलको अन्तिम ओभरमा २ जनालाई आउट गरेका हुन्। ऐरीले हङकङका कप्तान मोहम्मद निजाकत खानलाई रनआउट समेत गरे।

यस्तै करन केसीले दोस्रो ओभरको पहिलो बलमा हङकङका मार्टिन कोट्जेलाई आउट गरेका थिए। हङकङका ब्याट्सम्यान अन्शुमन राठले ३४ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको थियो। खेल १८/१८ ओभर खेलाइएको थियो। नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार