दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने

२०८१ बैशाख ६, बिहीबार

काठमाडौँ : पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दीपेश पुनमाथि सुन तस्करी मुद्दामा फेरि अनुसन्धान हुने भएको छ।

सुप्रिम बचत तथा ऋण सहकारी घोटाला गरेको आरोपमा बुटवलमा थुनामा रहेका पुनलाई त्यहाँको मुद्दा प्रक्रिया पुरा भएपछि काठमाडौँ पठाउन सीआईबीले पत्र पठाएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा पुनको डीएफएल नगरेको विषय उल्लेख गरेको छ । समग्र सुन तस्करीमा आयोगले पुनको नाम उल्लेख गरेको हुनाले उनीसँग बयान लिनुपर्ने देखिएको सीआईबीका प्रमुख श्यामलाल ज्ञवालीले बताए ।

ज्ञवालीले भने– ‘बुटवलबाट काठमाडौँ ल्याएर अनुसन्धान गर्छौं । ’यसअघि ६० किलो सुन प्रकरणमा आफूले बोक्ने मोबाइल नलगेर पुन सामान्य ‘टुकटुके’ मोबाइल लिएर सीआईबीमा पुगेका थिए। अनुसन्धान अधिकृतहरूले उनको बयान कागज गराए तर प्रतिवादी बनाएनन् । बेल्जियन नागरिक दावा छिरिङसँग पुनको ‘कनेक्सन’ देखिएको छ। इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर दुबईबाट ल्याएको सुन र ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुनको अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटि देखिएको छ। जाँचबुझ आयोगले साढे ५ महिना जाँचबुझ गरेर अनुसन्धानमा त्रुटि रहेको निष्कर्ष सहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो।

उनी सुप्रिम सहकारीका पूर्वसचिव र अहिलेका कोषाध्यक्ष हुन्। आफूले थाहै नपाई सचिव बनाएको जिकिर गर्दै उनले बयानमा भनेका छन्– ‘मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्था प्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ।’

अनुसन्धानको क्रममा उनले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेश्कीबापत ३ लाख लिएको भेटिएको छ। तर, पुनले पेश्की भौचरमा भएको दस्तखत आफ्नो नभएको जिकिर गरेका छन्। बयानमा उनले भनेका छन्–‘पेश्की भौचरमा भएको नाम दीपेश पुन रहेको र मेरो नाम दिपेशकुमाार पुन भएको हुँदा नाम समेत फरक छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार