दशैं तिहारबाहेकका बिदामा २३ दिन कार्यालय खुला

२०८१ बैशाख ७, शुक्रबार

काठमाडौं : दशैं, तिहार र केही महत्वपूर्ण चाडबाहेक अन्य दिनमा झण्डै ३० प्रकारका सरकारी कार्यालय सधैंजसो खुला हुने भएको छ। गृह मन्त्रालयले जारी गरेको बिदासम्बन्धी व्यवस्थामा सो निर्णय गरेको हो। यसअघि अत्यावश्यक कार्यालय मात्र खुला हुने व्यवस्था थियो।

मन्त्रालयले जारी गरेको संवत् २०८१ को बिदासम्बन्धी व्यवस्थामा ती दिनमा बैंक वित्तीय संस्था, शिक्षण संस्थाको परीक्षासम्बन्धी व्यवस्था, वैदेशिक रोजगार, मालपोत र नापीलगायत अघिल्लो वर्ष बिदा हुने कार्यालयसमेत खुला हुने उल्लेख गरेको छ।

पर्व बिदामध्ये राम नवमी, चण्डी (वैशाख) पूर्णिमा, उभौली पर्व, रक्षाबन्धन, कृष्ण जन्माष्टमी, घटस्थापना, क्रिसमस डे, धान्य पूर्णिमा (उधौली पर्व, योमरी पुन्ही, ज्यापुदिवस), तमु ल्होसार, माघी पर्व (माघेसंक्रान्ति), सोनम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, इद (इल उलफित्र) बकर इद, इद उल अजहा) को बिदा नहुने भएको छ।

त्यसै गरी जात्रा बिदाअन्तर्गत गाईजात्रा, इन्द्रजात्रा, घोडेजात्रा, मच्छेन्द्रनाथको भोटो देखाउने जात्रामा बिदा नदिने भएको छ। सार्वजनिक दिवस बिदामध्ये गणतन्त्र दिवस, सहिद दिवस, राष्ट्रिय प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवसमा समेत ती कार्यालय बिदा हुने छैनन्। त्यस्तै, जन्मजयन्ती बिदाअन्तर्गत बुद्ध जयन्ती र पृथ्वी जयन्तीमा समेत ती कार्यालय खुला हुनेछन्।

उक्त दिन सेवा प्रवाह गर्ने कार्यालयहरू कूटनीतिक नियोगसमेत खुला रहने उल्लेख छ। खुला गर्ने कार्यालयले आफ्नो वेबसाइटमा सम्पूर्ण उक्त विषयमा जानकारी दिनुपर्ने व्यवस्था उल्लेख गरेको छ। ती कार्यालयमा सेवा प्रवाह भए नभएको विषयमा केन्द्रीय निकायको हकमा गृह, सम्बन्धित मन्त्रालय र विभागले अनुगमन गर्नुपर्नेछ।

जिल्लास्थित सरकारी र सार्वजनिक निकायको हकमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गर्नुपर्ने व्यवस्था गरेको छ। ती दिनमा नागरिकता, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणसम्बन्धी सेवा, राहदानी, कन्सुलर सेवा खुला रहनेछन्। त्यस्तै, भन्सार तथा राजस्वसम्बन्धी (राजस्व अनुसन्धानसम्बन्धीसमेत), क्वारेन्टाइनसम्बन्धी सेवा, सवारी अनुमतिपत्र, सवारीसाधन दर्ता, नवीकरण र प्रदूषण जाँचलगायतका यातायात व्यवस्थापनसम्बन्धी सेवा, उद्योग वाणिज्य र कम्पनी प्रशासनसम्बन्धी सेवा चालु रहने व्यवस्था गरेको छ ।

उक्त दिन वैदेशिक रोजगार, मालपोत तथा नापी, भेटेरीनरी, खानेपानी, विद्युुत्, सडक तथा ढल मर्मत, खाद्य गुणस्तर परीक्षण, वैदेशिक अध्ययन अनुमति (एनओसी), नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्रसम्बन्धी सेवा सञ्चालन गर्नुपर्नेछ । प्रदेश सरकार र स्थानीय सरकारले तोकेका सार्वजनिक सेवा तथा प्रदेश सरकार र स्थानीय तहबाट जनतालाई प्रवाह गरिने अन्य सेवाहरूसमेत चालु गर्नुपर्ने भएको छ।

बिदाको दिनमा बैंक, बिमा तथा वित्तीय संस्थाबाट प्राप्त गर्ने सबै सेवाहरू, सबै प्रकारका अस्पतालबाट प्रवाह हुने बहिरंगसहित सबै स्वास्थ्य सेवा, साइबर सेक्युरिटी र इन्टरनेटसमेतको दूरसञ्चारसम्बन्धी सबै सेवाहरू, सबै सरकारी, सामुदायिक र निजीक्षेत्रबाट सञ्चालित विश्वविद्यालय, क्याम्पस, सबै सार्वजनिक, संस्थागत विद्यालय एवं विभिन्न निकाय तथा शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षासम्बन्धी सेवा र सम्बन्धित मन्त्रालय र निकायले जनतालाई सेवा प्रवाहका लागि तोकेका अन्य सेवाहरू बिदाको दिनमा २३ कार्यालय चालु गर्नुपर्ने व्यवस्था गरेको छ।

उक्त दिनबाहेक अन्य सार्वजनिक बिदामा अस्पताल, दूरसञ्चार, प्रहरी अध्यागमन, भन्सार, कारागार, फोहोरमैला व्यवस्थापन, फायर ब्रिगेड, टक्सार, रेडियो नेपाल, मुद्रण विभाग, हुलाक, शान्ति सुरक्षा, विपद् रोजाना र आकस्मिक सेवा प्रदान गर्ने मन्त्रालय, विभाग तथा कार्यालयहरूले सार्वजनिक बिदाका दिनमा समेत दैनिक कार्य नरोकिने गरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख छ।

बिदाको बारेमा जानकारी गराउँदै गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले अत्यावश्यकबाहेक केही सेवा प्रवाह गर्ने संस्था मन्त्रालयले तोकेको दिनमा खुला राख्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘मन्त्रालयले गरेको निर्णयअनुसार सबै काम तोकेअनुसार गर्ने गरी निर्देशन दिएका छौं।’

खुला हुने कार्यालय
–वैदेशिक रोजगार
–मालपोत तथा नापी
–भेटेरिनरी
–खानेपानी
–विद्युत्
–सडक तथा ढल मर्मत
–खाद्य गुणस्तर परीक्षण
–वैदेशिक अध्ययन अनुमति (एनओसी)
–नेपाल प्रहरीबाट प्रदान गरिने चारित्रिक प्रमाणपत्रसम्बन्धी सेवा
–बैंक, बिमा तथा वित्तीय संस्थाबाट प्राप्त गर्ने सबै सेवा
–अस्पतालबाट प्रवाह हुने बहिरंगसहित सबै स्वास्थ्य सेवा
–साइबर रेक्युरिटी र इन्टरनेटसमेतको दूरसञ्चारसम्बन्धी सबै सेवा
–सबै सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित विश्वविद्यालय, क्याम्पस, सबै सार्वजनिक, संस्थागत विद्यालय एवं विभिन्न निकाय तथा शिक्षण संस्थाबाट सञ्चालन हुने परीक्षासम्बन्धी सेवा
–सम्बन्धित मन्त्रालय र निकायले जनतालाई सेवा प्रवाहका लागि तोकेका अन्य सेवाहरू

पर्व बिदा
–राम नवमी
–चण्डी (वैशाख) पूर्णिमा
–उभौली पर्व
–रक्षाबन्धन
–कृष्ण जन्माष्टमी
–घटस्थापना
–क्रिसमस डे
–धान्य पूर्णिमा (उधौली पर्व, योमरी पुन्ही, ज्यापुदिवस)
–तमु ल्होसार
–माघी पर्व (माघे संक्रान्ति)
–सोनम ल्होसार
–महाशिवरात्रि,
–ग्याल्पो ल्होसार
–इद (इल उलफित्र)
–बकर इद, (इद उल अजहा)
जात्रा बिदा
–गाईजात्रा
–इन्द्रजात्रा
–घोडेजात्रा
–मच्छिन्द्रनाथको भोटो देखाउने
सार्वजनिक दिवस
–गणतन्त्र दिवस
–सहिद दिवस
–राष्ट्रिय प्रजातन्त्र दिवस
–अन्तर्राष्ट्रिय महिला दिवस
–बुद्ध जयन्ती
–पृथ्वी जयन्ती

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार