आजदेखि एमाले महाधिवेशन परिषद् बैठक सुरु हुँदै

२०८१ बैशाख ८, शनिबार

काठमाडाैं : एमालेको प्रथम महाधिवेशन परिषद् बैठक शनिबारबाट सुरु हुँदै छ । ललितपुरको गोदावरीस्थित सनराइज अन्तर्राष्ट्रिय सभा हलमा दुई दिन चल्ने महाधिवेशन परिषद् बैठक एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । एमालेले ०७८ मा चितवनमा सम्पन्न दशौँ महाधिवेशनपछि पहिलोपटक महाधिवेशन परिषद् बैठक आयोजना गर्न लागेको हो ।

एमाले महासचिव शंकर पोखरेलले ‘मिसन– ८४ मा बलियो र निर्णायक राष्ट्रिय शक्तिका रूपमा कसरी पार्टीलाई स्थापित गर्ने भन्ने विषयमा संगठन सुदृढीकरण वर्ष योजनाबारे विशेष छलफल गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । ‘अब नेपालमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दल र निर्णायक भूमिका खेल्न सक्ने शक्तिका रूपमा नेकपा एमालेको विकास हो,’ उनले भने ।

महाधिवेशन प्रतिनिधि परिषद्मा दुई हजार चार ५४ प्रतिनिधि सहभागी हुनेछन् । एमालेमा विधानको धारा १५ बमोजिम विधान महाधिवेशनको हैसियतबाहेक राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक दुई राष्ट्रिय महाधिवेशनको बीचमा आवश्यकताअनुसार आयोजना गरिने व्यवस्था छ ।

बैठकमा ६ वटा प्रतिवेदनमाथि छलफल हुनेछ । अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन र महासचिव पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । त्यस्तै, केन्द्रीय निकायहरू– केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग, केन्द्रीय निर्वाचन आयोग र केन्द्रीय सल्लाहकार परिषद्का तर्फबाट प्रतिवेदन प्रस्तुत हुनेछन् ।

बैठकमा ०८१ लाई पार्टी शुद्धीकरण तथा सुदृढीकरण वर्षका रूपमा अभियान सञ्चालन गर्ने विस्तृत कार्ययोजनामाथि छलफल हुनेछ । परिषद् बैठकमै मिसन ग्रासरुट अभियान, झुलाघाटदेखि चिवाभञ्ज्याङसम्मको अभियानलगायत विषय पनि समीक्षाको एजेन्डाका रूपमा प्रतिवेदनमा अगाडि सारिएको छ ।

तर, ‘कार्यकर्ताको डिजिटिल ओपनियन पोल’बाट निर्णय गरिने भएको छ । ललितपुरमा पेस हुने प्रतिवेदन सबै संगठित सदस्यले हेर्न पाउनेछन् भने मत पनि दिने पाउनेछन् । महासचिव पोखरेलले आधुनिक डिजिटल माध्यमको प्रयोग गरेर ओपनियन पोलमार्पmत कार्यकर्ताको भावनासमेत बुझेर परिषद् बैठक निष्कर्षमा पुग्ने बताए । ‘पार्टीका कार्यकर्तालाई आफ्नै मोबाइल एपबाट परिषद्का ६ वटै दस्तावेज जानकारी गराउनेछौँ । पढाउनेछौँ । परिषद् बैठकका सम्पूर्ण सूचना पनि त्यहीँबाट प्राप्त गर्न सकिनेछ । व्यक्तिहरूको अभिलेखीकरण, परिचयपत्र एपबाटै दिइनेछ,’ पोखरेलले भने, ‘एपबाटै ओपिनियन पोल गरेर कार्यकर्ताको भावना के छ भन्ने कुरा आधुनिक डिजिटल माध्यमको प्रयोग गरेर प्रत्यक्ष रूपमा कार्यकर्ताको भावना समेट्छौँ, सम्बोधन गर्छौँ र निष्कर्षमा पुग्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार