चार महिनाभित्र पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने

२०८१ बैशाख ८, शनिबार

दैलेख : नेपालको लागि गौरवको आयोजना मानिएको दैलेखमा शुरु हुन लागेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लाग्ने भएको छ । पेट्रोलियम पर्दाथको परिमाण पत्ता लगाउनको लागि अन्वेषणको अन्तिम ड्रिलिङका लागि रिग हाउस निर्माणको काम शुरु गरिएको सँगै चार महिना भित्र परिमाण पत्ता लाग्ने अन्वेषण टोलीले जनाएको छ ।

पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन मुख्य ड्रिलिङको काम शुरु गरिएको अन्वेषणमा खटिएका प्राविधिक टोलीले जानकारी दिए । चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखमा पेट्रोलियम अन्वेषणको काम शुरु गरिएको हो । अहिले आयोजना स्थलमा सुरक्षाको लागि जिल्ला प्रशासन कार्यालय दैलेखले नेपाल प्रहरी,सशस्त्र प्रहरीले सुरक्षा दिईरहेको छ ।

पेट्रोलियम पदार्थ उत्खनन आयोजना स्थल जलजले एक सय २० ट्रकमा आएका सामानहरूको व्यवस्थापनसँगै रिग हाउस निर्माण थालिएको हो । रुपैडिया नाकाबाट आउनुपर्ने एक सय ५० ट्रकहरूमध्ये आयोजना स्थलमा एक सय २० ट्रक मात्र आई पुगेका छन् । दैलेखको भूभागमा रहेको पेट्रोलियम पदार्थको परिमाण पत्ता लगाउन अन्तिम अन्वेषणको कामका लागि जलजलेमा चार किलोमिटर ड्रिलिङ गर्न रिग हाउस निर्माणको काम धमाधम अगाडी बढी रहेको छ । काम सञ्चालन भए सँगै जिल्लाबासीमा खुशी छाएको छ भने ३४ जना जिल्लाबासीले समेत रोजगारी पाएका छन् ।

निकै ठूला र धेरै तौल भएका सामानहरूको व्यवस्थापनका लागि तीनवटा क्रेनको प्रयोग गरिएको छ । ड्रिलिङ मुख्य केन्द्र मानिएको जलजलेमा करिब ३० मिटर उचाइमा बन्ने रिग हाउसको तल्लो भाग निर्माण सुरु गरिएको छ । वैशाख अन्तिमसम्म सबै सामान जलजले आइपुग्ने र जडान कार्य सम्पन्न भएसँगै अन्वेषणको काम सुरु हुने चिनियाँ प्राविधिकले बताएका जानकारी दिए । अहिले चिनियाँ र नेपाली प्राविधिक मिलेर कामलाई तिव्रता दिईरहेका छन् । न् ।

करिब चार महिनाभित्र दैलेखमा कति परिमाणमा पेट्रोलियम पदार्थ छ भन्ने पत्ता लाग्ने दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए । सुरक्षाको व्यवस्थापनका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेका छौं । आवश्यक परेका वेलामा २४सै घण्टा सुरक्षा लगायत अन्य सबै समस्या समाधानमा लागि जिल्ला प्रशासन काम गरिरहेको छ उनले भने । नेपालमा पहिलोपटक पेट्रोल अन्वेषण परियोजना सुरु हुन लागेकोमा सबै नेपालीमा खुसी छाएको नेपाली सहजकर्ता माइज हुसेनले बताए ।

दैलेखको भैरवी गाउँपालिका–१, जलजलेमा सरकारले ४५ रोपनी जग्गा अधिग्रहण गरेर अन्तिम अन्वेषणको काम सुरु गरेपछि काम अगाडी बढेको थियो । जग्गा अधिग्रहणमा केही विवादित भएपनि जिल्ला प्रशासनको सहजीकरणमा समस्याको समाधान गरि सकेपछि काम अगाडी बढेको थियो । धमाधम अन्वेषण काम अगाडी बढेपछि आजभोली जलजलेमा जिल्ला वा जिल्ला बाहिरका हेर्ने मान्छेको घुईचो लाग्ने गरेको स्थानीयबासी महेन्द्र थापाले बताए । उनले भने,काम शुरुवातमा हेर्ने मान्छेको घुईचो लाग्ने गरेको छ । सुनसान हुने जलजले बजार आजभोली हेर्ने मान्छे घुईचो गर्दा व्यापार व्यवसाय पनि हुन थालेको बताए । अहिले अन्वेषण स्थल जलजले हेर्न आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको झनै आशा पलाएको स्थानीयबासीको भनाई छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपाल र चीन सरकारसँग ०७५ सालमा भएको जिटुजी सम्झौताअनुसार चीनको करिब दुई अर्ब ५० करोड लागतमा दैलेखको भूभागमा पेट्रोलियम अन्वेषणका काम सञ्चालनमा छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत चासो देखाएपछि आयोजना स्थलको अध्ययन र अनुसन्धानसँगै कामले थप तीव्रता पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार