यो देशमा हामीभन्दा बढी लोभी, पापी बाबुराम भट्टराई हो : महिन्द्र राय यादव

२०८१ बैशाख ८, शनिबार

काठमाडौँ : नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले डा. बाबुराम भट्टराई आफू राष्ट्रपति र पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन नसकेपछि एकताको विपक्षमा उभिएको आरोप लगाएका छन् । शनिबार पार्टीले ललितपुरमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अर्का अध्यक्ष डा. भट्टराईले राष्ट्रपतिको पद प्राप्त नगरेपछि माओवादी केन्द्रसँग एकताको विपक्षमा उभिएको बताएका हुन् ।

उनले भट्टराईले राष्ट्रपति पद मागेको दाबी गरे । आफूले राष्ट्रपति नपाएपछि पत्नी हिसिला यमीलाई उपराष्ट्रपति बनाउन विभिन्न नेताकहाँ दौडधुप गरेको र सो पनि नपाएको यादवले बताए ।

उनले भने, ‘उहाँलाई राष्ट्रपति बनाइदिएको भए, उहाँको राष्ट्रपतिको प्रस्ताव थियो । यो पार्टी १५ दिनमा एकता हुन्थ्यो । बन्न सक्नुभएन । मलाई थाहा छ । डा. सापले मलाई भन्नुभयो, राष्ट्रपति भएन हिसिला यमीको लागि उपराष्ट्रपतिको लागि कुरा गर्न जाऔँ । मैले कुरा गरेको छु प्रचण्डसँग । मैले डा. सापलाई भनेँ, तपाई पनि हिँड्नुस्, प्रचण्डजीले भन्नुभयो मैले उपराष्ट्रपति जनता समाजवादीलाई दिएँ । डा. साप विचलित हुनुभयो । अनि मलाई भन्नुभयो, फलानो नेताकोमा जाऔँ । म सबै नेताकोमा गएँ । लास्टमा मैले भने छोडिदिनुस् यो अभियान । मैले भने पार्टी दर्ता नगर्नुस् तपाई, यो राष्ट्रिय सभाको चुनावमा हाम्रो पार्टीको भोट भनेको ४५ हो । नगर्नुस् । दर्ता गराइदिनु भयो । प्रचण्डजीकहाँ गएर उहाँले माग्नुभयो, गण्डकी प्रदेशबाट मेरो श्रीमतीको लागि एउटा सिट दिनुस् । यो राजनीतिक पार्टी उहाँको पारिवारिक जस्तो भयो । आफू, श्रीमती, बुहारी, छोरी सबैको लागि राजनीति गर्न सकिन्छ ? अनि प्रचण्डजीले मलाई सोध्नुभयो, कसरी तपाई दिनुहुन्छ ? पार्टी एकता गराउनुस्, बाबुरामले जे–जे भन्छ सबै दिनुस् । पार्टी एकता बिना केही नदिनुस् मैले भनेको प्रचण्डजीलाई । यथार्थ कुरा यही हो । सच्चाइ यही हो । लुकाउनुपर्ने कुरा होइन । अनि हामीलाई चाहिँ मुद्दा लगाउने, हामीलाई चाहिँ लोभी, पापी बनाउने ? यो देशमा हामीभन्दा बढी लोभी, पापी बाबुराम भट्टराई हो । म प्रमाणित गर्न सक्छु । अनि बाबुरामले हामीलाई भन्न मिल्छ ?’

उनले बाबुराम भट्टराईले नेपाली जनतालाई धोका दिएको र परिवारवादमा फसेको आरोप लगाए । उनले बाबुराम भट्टराई अधिक लोभी, पापी बनेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार